काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ।
संगोष्ठीमा समानान्तर रूपमा आयोजित तीन कार्यक्रमबीच ३६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। ‘डि-वेस्टर्नाइजेशन’, ‘एशियासेन्ट्रिसिटी एन्ड रिओरियन्टेशन’, ‘नाट्यशास्त्र एन्ड वाक्यपदीय’, ‘बियोन्ड द बाउन्डरिज’, ‘फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स’, ‘पर्स्युट अफ सहृदयता र कम्युनिकेशन प्राक्टिस’ गरी ६ विधामा कार्यपत्र प्रस्तुत गरिएका थिए।
स्वदेश र विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत प्रस्तोताले साधारणीकरण सञ्चार-ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन्।
कार्यपत्र प्रस्तुत गर्नुअघि ‘टु डिकेड्स अफ द साधारणीकरण मोडल अफ कम्युनिकेशन एन्ड फ्युचर प्रस्पेक्ट्स’ र ‘साधारणीकरण मोडल अफ कम्युनिकेशन एन्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स’ गरी दुई विषयमा विमर्श गरिएको थियो।
संगोष्ठीमा भारतस्थित साउथएशियन युनिभर्सिटीका कुलपति प्रा.डा. केके अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। यस्तै, अमेरिकाको हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ताका रूपमा सहभागी थिए। भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. बीके कुठियाला र वर्तमान उपकुलपति प्रा.डा. केजी सुरेश वक्ताका रूपमा सहभागी थिए।
संगोष्ठीमा चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत स्कूल अफ पोलिटिक्स एन्ड पब्लिक एड्मिनिस्ट्रेशनका उपाध्यक्ष प्रा.डा. हान हङ र इन्डोनेशियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय)का प्रा.डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे आआफ्नो धारणा राखे।
भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडीजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि संगोष्ठीमा सम्बोधन गरेका थिए।
कार्यक्रमको उद्घाटन सत्रमा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरिएको थियो।
केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गरिएको हो। यस सञ्चार ढाँचा हाल विश्वका अनेकौं विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरी पठनपाठन समेत भइरहेको छ। यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन्।