एमसीसीमा विदेशी परामर्शमै सकियो एक अर्ब
अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजनाको परामर्श खर्चका विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल समिति मार्फत कार्यान्वयन भइरहेको यस परियोजनामा आर्थिक वर्ष २०७९/८० सम्म परामर्श सेवामा ७८ लाख ७७ हजार अमेरिकी डलर खर्च भइसकेको छ। अहिलेको विनिमय दर अनुसार यो रकम एक अर्ब रुपैयाँभन्दा बढी हुन्छ।
यस्तो परामर्श बापतको रकम विदेशी परामर्शदाताले लगेको पनि महालेखाले उल्लेख गरेको छ। एमसीए नेपाल संस्थामा रहेका कर्मचारीबाटै लेखाको विवरण राख्न, खरीदको प्रक्रिया अघि बढाउन सकिने भए पनि सोही कामका लागि विदेशी परामर्शदातालाई महँगो रकममा राखिएको महालेखाको निष्कर्ष छ।
एमसीए नेपालको कार्यालयमा रहेका कर्मचारीबाट आर्थिक कारोबारको लेखा राख्न र भुक्तानीको सिफारिश गर्न तथा भुक्तानी दिन र खरीद कार्य गर्न सकिने भए पनि वित्तीय कारोबारका लागि भनी वित्त प्रतिनिधि (फिस्कल एजेन्ट) र खरीद कार्यका लागि खरीद प्रतिनिधि (प्रोक्युरमेन्ट एजेन्ट)को रूपमा एकै विदेशी परामर्शदाता नियुक्त गरी खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। वित्त प्रतिनिधितर्फ अमेरिकी डलर ५.०५ मिलियन र खरीद प्रतिनिधितर्फ अमेरिकी डलर ५.८२ मिलियनको सम्झौता गरिएको महालेखाले जनाएको छ।
महालेखाले संस्थाका कर्मचारीबाटै सम्पादन हुन सक्ने कार्यका लागि समेत बाह्य परामर्शदाता राख्ने कार्यलाई नियन्त्रण गरी खर्चमा मितव्ययिता ल्याउन प्रतिवेदनमा उल्लेख गरेको छ।