चोरी भएका सम्पदा फिर्ता ल्याउनै गाह्राे
पर्याप्त प्रमाण हुँदाहुँदै पनि नेपालबाट विदेश पुर्याइएका मूर्ति फिर्ता नभएकोमा अभियन्ताले चिन्ता जनाएका छन्।
नेपाल सम्पदा पुन:स्थापन अभियान र पुरातत्त्व विभागले आयोजना गरेको दुईदिने ‘सम्पदा पुन:स्थापनाबारे राष्ट्रिय सम्मेलन’ मा सहभागीले नेपालका मूर्ति विदेशबाट फिर्ता ल्याउन नसकिएकोमा चिन्ता जनाएका हुन्। पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबार शुरू भएको दुई दिने सम्मेलनमा मूर्ति फिर्तादेखि पुन:स्थापनाका विषयमा छलफल भइरहेको छ।
सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल सम्पदा पुन:स्थापन अभियानकी अध्यक्ष ऋद्धिबाबा प्रधानले अमूर्त सम्पदाको संरक्षण गर्न मूर्त सम्पदाको संरक्षण अपरिहार्य भएको बताइन्। मूर्ति, तोरण, टुँडाल लगायत सम्पदा चोरी हुँदा पूजा, जात्रा, पर्व, भोज, भजनकीर्तन लगायतमा जीवन्तता नरहने प्रधानको भनाइ थियो। “नेपालको शक्ति भने पनि, सम्पत्ति भने पनि यिनै सम्पदा हुन्। यिनलाई नबचाए हाम्रा मान्यता, चाडपर्व चलायमान हुँदैनन्,” उनले भनिन्।
नेपालबाट हजारौं सम्पदा चोरी भएको उल्लेख गर्दै केही सय मात्र फिर्ता भएको उनले बताइन्। नेपालबाट कति सम्पदा चोरिए भन्ने तथ्यांक नहुनु गम्भीर विषय भएको उनको भनाइ थियो।
त्यस्तै, पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानांगले चोरी भएका सम्पदा फिर्ता ल्याउने मन भए पनि धन नभएको बताइन्। तैपनि सम्पदा फिर्ता ल्याउने कोशिश भइरहेको उनको भनाइ छ। “हामीले यिनै सम्पदामा गर्व गर्दै आएका छौं, यिनै सम्पदा हराउँदा बेवास्ता गर्न सक्दैनौं,” उनले भनिन्।
अहिलेसम्म चोरी भएका मूर्तिबारे विभागमा ४०९ वटा निवेदन आएको प्रधानांगले बताइन्। जसमध्ये १४९ वटा मूर्ति फिर्ता भएको उनले जानकारी दिइन्। तर नेपालकै सम्पदा भएको प्रमाण पुगे पनि सय वटा मूर्ति फिर्ता हुन नसकेको उनले बताइन्। जुन मूर्ति विदेशी संग्रहालयमा छन्।
२००७ सालबाटै मूर्ति हराउन शुरू भएको अनुमान छ। हराएका सम्पदाबारे विस्तृत जानकारी भने विभागसँग पनि छैन। सम्पदा जोगाउन समुदायकै भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
सम्मेलनमा पुरातत्त्व विभागकी अधिकृत सरिता सुवेदीले विदेश पुर्याइएका मूर्तिबारे विवरण प्रस्तुत गरिन्। उनका अनुसार स्वीडेनमा ३०, बेलायतमा २४, फ्रान्समा १६, स्वीजरल्यान्डमा १४, अमेरिकामा नौ, अस्ट्रेलियामा दुई, सिंगापुर र चीनमा एक-एक नेपाली मूर्ति छन्। नेपालकै कलाकृति भएको प्रमाण भए पनि फिर्ता ल्याउन नसकिएको उनले बताइन्।
सबै देशलाई प्रमाण बुझाए पनि संग्रहकर्ताले फिर्ता गर्न भने आनाकानी गरिरहेको उनको भनाइ थियो। “अहिले पनि सुरक्षासँगै पुन:स्थापना गर्न समस्या भइरहेको छ। स्थान पहिचानदेखि फिर्ता ल्याउन वित्तीय समस्या पनि छ,” सुवेदीले भनिन्।
मूर्ति फिर्ता ल्याएपछि व्यवस्थापन गर्न चुनौती भए पनि सबैभन्दा पहिले मूर्ति फर्काउन सबैले हातेमाले गर्नुपर्ने नेपाल सम्पदा पुन:स्थापन अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले बताए। “हामीले हाम्रा भगवान् घर ल्याउन एक्लै नसक्ने रहेछौं। यसका लागि सबैको साथ चाहिने रहेछ भन्ने लक्ष्मी-नारायणको मूर्ति फिर्ताको समयमा पाठ सिकेर यो अभियान थालेका हौं,” दीक्षितले भने, “अब हामीले उपत्यका बाहेकका पौराणिक र सांस्कृतिक क्षेत्रका सम्पदाको पनि उत्तिकै ख्याल राख्नुपर्छ।”
यी सबै काम गर्न नेपाल सरकारले पुरातत्त्व विभागलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। दुई दिनसम्म चल्ने सम्मेलनमा सात वटा कार्यपत्र प्रस्तुत गरिने भएको छ। तिनमाथि छलफल हुनेछ।
सम्मेलनको पहिलो सत्रमा संस्कृति संरक्षणकर्मी रवीन्द्र पुरी, आलोकसिद्धि तुलाधर र संगीता थापाले चोरी भएका कलाकृतिको व्यवस्थापनबारे चर्चा गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा नेपाल सरकारका सचिव भरतमणि सुवेदी, न्यूयोर्कस्थित कूटनीतिक नियोगका पूर्व अधिकारी विष्णु गौतम, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले मूर्ति फिर्ती प्रक्रिया र सम्पदा संरक्षणमा सरकार र समुदायका तर्फबाट के के पहल हुन सक्छन् भन्ने विषयमा चर्चा गरेका थिए।