‘सहकारीले मर्नु न बाँच्नु बनायो’
सहकारीमा जम्मा गरेको रकम सञ्चालकले हिनामिना गरेपछि मर्नु न बाँच्नुको अवस्थामा पुगेको पीडितले बताएका छन्।
पोखराको नयाँगाउँकी ५१ वर्षीया चमेली श्रेष्ठले खुद्रा किराना पसलबाट भएको आम्दानी सूर्यदर्शन सहकारीमा बचत गरेकी थिइन्। पाँच वर्षदेखि रकम जम्मा गर्दै जाँदा रु. आठ लाख जम्मा भएको थियो। तर सहकारीमा बचेत गरेको रकम हिनामिना भएपछि अप्ठ्यारोमा परेको उनले सुनाइन्।
जीबी राई अध्यक्ष रहेको वेला सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगाइएको थियो। त्यति वेला गोर्खा मिडियामा राई अध्यक्ष थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक (एमडी) थिए।
सूर्यदर्शन सहकारीबाट टेलिभिजनमा गरिएको लगानी डुबेपछि अहिले बचतकर्ताको बिचल्ली भएको छ। आफूलाई आवश्यक पर्दा पैसा निकाल्न सहकारी पुगेकी श्रेष्ठलाई सहकारीले बचत रकम फिर्ता दिएन। त्यसैका कारण अहिले घरखर्च जोहो गर्न गाह्रो भएको उनले बताइन्।
उनी जस्तै सहकारीपीडित बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आइतबार पोखरामा प्रदर्शन गरेका छन्। श्रेष्ठले पनि प्लेकार्ड बोकेर नारा लगाइन्। “सहकारीले मर्नु न बाँच्नु बनायो,” उनले भनिन्, “ऋण दिएकाहरू पैसा माग्न दिनरात आउँछन्, हाम्रो पैसा फिर्ता दिनुपर्यो।”
पोखरामा रहेको सूर्यदर्शन, प्राइम, इमेज, विन्ध्यवासिनी, बलिदानी, मित्रमिलन र शिवशिखर गरी सात वटा सहकारीका बचतकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘बचतकर्ताको बचत रकम फिर्ता गर’, ‘समस्याग्रस्त सहकारीका बचतपीडितको बचत रकम सुरक्षा गर’, ‘आन्दोलनरत बचतपीडितको जीउधनको सुरक्षा गर’, ‘कानूनी अपूर्णता र अस्पष्टता अन्त्य गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ लगायत नारा लगाएका थिए।
त्यस्तै, लेखनाथकी ५० वर्षीया शान्ति आचार्यले जग्गा बेचेको रकम सूर्यदर्शन सहकारीमा जम्मा गरेकी थिइन्। तर रकम फिर्ता नपाएपछि आन्दोलनमा आएकी हुन्। “यता राम्रो हुन्छ भनेर फकाएर सूर्यदर्शनमा राखें, अब कसो गर्ने होला,” आचार्यले भनिन्, “बचत रकम फिर्ता नआए त मरिन्छ।”
पोखराकै सराङकोटका ७८ वर्षीय भीमप्रसाद चपाईं चर्को घाममा छाता ओढेर नारा लगाइरहेका थिए। चपाईं नसा तथा अल्सरका बिरामी हुन्। सूर्यदर्शन सहकारीमा जम्मा गरेको २० लाख रुपैयाँ हिनामिना भएपछि बिरामी चपाईं हरेक प्रदर्शनमा पुग्ने गरेका छन्। “दुःखले राखेको पैसा खाइदिए,” उनले भने।
उनीहरू जस्तै सहकारीमा रकम डुबेका बचतकर्तालाई दैनिकी चलाउन पनि अप्ठ्यारो भएको छ। कास्कीमा मात्रै ४० हजार बचतकर्ताको रकम हिनामिना भएको सहकारी बचतपीडित संघर्ष समिति, कास्कीका अध्यक्ष किरण श्रेष्ठले बताए।
पोखराका सहकारीका सञ्चालकले बचतकर्ताको सात अर्ब रुपैयाँ हिनामिना गरेको श्रेष्ठले बताए। सहकारीमा बचत गरिएको रकम अपचलनको विषयान्तर नगरीकन पीडित बचतकर्ताको पैसा फिर्ता गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
बचतकर्ताको रकम फिर्ताका लागि सरकारले हिनामिनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पीडितको माग छ। यसअघि पनि उनीहरू प्रदर्शनमा उत्रिएका थिए। सरकारले बचत रकम फिर्ता गराउने आश्वासन दिएपछि आन्दोलन रोकेका थिए। तर महीनौं बित्दा पनि रकम फिर्ता नभएपछि फेरि सडकमा आउनुपरेको अध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार सहकारीको रकम हिनामिना हुँदा धेरैजसो गरीब नै पीडित भएका छन्। दैनिक ज्यालामजदूरी तथा ससानो व्यापार गरेर जोगाएको पैसा डुबेपछि उनीहरू मर्कामा परेका छन्। “पीडित बचतकर्ताले प्रत्येक दिन सोधखोज गरिरहनुभएको छ,” उनले भने, “बचतकर्ताको अवस्था नाजुक छ।”