स्वर्णिम वाग्लेले भने- संसद्मा कांग्रेसले गरिरहेको विरोध औचित्यहीन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले संसद्मा नेपाली कांग्रेसले गरिरहेको विरोधलाई औचित्यहीन भनेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद वाग्लेले कांग्रेसको नाराबाजीप्रति विरोध जनाए। “यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ,” उनले भने।
कांग्रेसले गरिरहेको विरोधले संसद्को गरिमा घटाउने वाग्लेको भनाइ थियो। “संसद्को ओज, गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने हो कि सहकारी समस्या समाधान गर्ने हो?” उनले प्रश्न गरे, “७४ लाख बचतकर्तालाई ध्यानमा राखेर समाधान दिने हो कि व्यक्तिकेन्द्रित भएर खराब नजीर बनाउने हो?”
वाग्लेेले उक्त विषयमा संसदीय छानबिन समिति गठन भई कार्यक्षेत्रका विषयमा छलफल भइरहेको बताए। संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे पनि कार्यदलमा सहमति जुट्ने आशा जनाउँदै उनले भने, “यो औचित्यहीन, कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन।”
वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रशंसा गरे। नीति तथा कार्यक्रमले सुधारलाई टेवा दिने उनको भनाइ थियो। उनले भने, “नीति तथा कार्यक्रममा क्रमिक सुधारको बीजारोपण भएको छ।”