प्रतिपक्षको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित
प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्। नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दै सभामुख घिमिरले भने, “हुन्छ भन्ने पक्षका सांसदको बहुमत भएकाले सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।”
त्यति वेला प्रतिपक्षी दलका सांसद नाराबाजी गरिरहेका थिए। ‘हुन्छ’ भन्ने पक्षमा सत्तापक्षका र ‘हुन्न’ भन्ने पक्षमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल बोलेका थिए।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेस लगायत विपक्षी दलले विरोध जनाउँदै आएका छन्। उनीहरू ‘वेल’ घेराउ गरेर नाराबाजी गर्दै आएका छन्।
आइतबार प्रतिपक्षी दलका सांसदको नाराबाजीबीच नै सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ गते मध्याह्न १ बजे बस्नेछ।