नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु
नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ।
सडक विस्तारका लागि भित्ता काटिरहेको वेला माथिबाट पहिरो खसेको थियो। भित्ता काटिरहेका बा २ क ८६५१ नं. को एक्स्काभेटरका चालक बर्दियाको गेडुवा गाउँपालिका-४ का ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए।
आइतबार बिहान पुल निर्माण गर्न भित्ता काट्ने क्रममा माथिबाट पहिरो खस्दा एक्स्काभेटर सहित चौधरी पुरिएका थिए। उनको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले बताए।
पहिरोमा परी एक्स्काभेटर पूर्ण रूपमा क्षति भएको छ। त्यस्तै, पहिरोमा परेर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नं. ट्रकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।