सहकारी ठगी छानबिनबारे दाहाल र देउवाबीच छलफल, के भयो कुराकानी?
सहकारी ठगी प्रकरणको छानबिनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार छलफल भएको छ।
कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलमा सहमति जुट्न नसकेको विषयमा छलफल भएको छ। चार दलका शीर्ष नेताबीचको सहमति अनुसार गठित कार्यदलमा संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे सत्तापक्षीय र प्रतिपक्षी दलबीच मतभिन्नता देखिएको हो।
प्रतिपक्षी दलले संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ। तर सत्तापक्षले व्यक्तिविशेषको नाम नराखेर समग्र सहकारीको छानबिन गर्नुपर्नेमा जोड दिएको छ। जसले गर्दा कार्यदलमा सहमति जुट्न सकेको छैन।
कार्यदलमा सहमति नजुटेपछि प्रधानमन्त्री दाहाल देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। दुवै नेताबीच केही बेर एक्लाएक्लै छलफल भएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। “सहमति जुटाउने विषयमा दुवै नेताबीच केही बेर एक्लाएक्लै छलफल भएको छ,” परियारले भने।
त्यसपछि कांग्रेसका अन्य नेता पनि छलफलमा सहभागी भएका थिए। त्यस क्रममा प्रधानमन्त्री दाहालले संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्न र संसद्को अवरोध हटाउने विषयमा सहयोग गर्न आग्रह गरेका थिए।
कांग्रेस सभापति देउवाले गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले छानबिन गर्नुपर्नेमा जोड दिएको सहमहामन्त्री परियारले बताए। “सहकारीका बचतकर्ताको करोडौं रकम गोर्खा मिडिया प्रालिमा लगानी गरिएको छ, त्यो रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने संलग्न हुनुहुन्छ,” छलफलपछि परियारले भने, “गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नहुँदासम्म हामी स्वीकार गर्दैनौं।”
सत्तारूढ दलले गृहमन्त्री लामिछानेलाई जोगाउने गरी छानबिन गर्न खोजेको उनको भनाइ छ। “सत्तापक्षका साथीहरू कम्पनी र कम्पनीका सञ्चालक जवाफदेही हुनुपर्छ भन्दै हुनुहुन्छ, गृहमन्त्रीलाई उम्क्याउने बाटोतिर जाँदै हुनुहुन्छ,” परियारले भने, “त्यसमा समाधान निस्किंदैन।”
दाहाल र देउवाबीच पनि यही विषयमा छलफल भएको उनले सुनाए। सभापति देउवाले कांग्रेसको प्रस्ट अडान राखेको उनको भनाइ थियो। प्रधानमन्त्री दाहालले सहकारीको छानबिन गर्न आफू गम्भीर रहेको र यसका लागि सहयोग गर्न कांग्रेसलाई आग्रह गरेको परियारले बताए।
तर कांग्रेसले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने अडान राखेको छ। “सहकारीको रकम ठगी गरेका व्यक्तिलाई कारबाहीमा ल्याउनुपर्छ,” परियारले भने, “कांग्रेसले सदनमा पनि आवाज उठाइरहेको छ, अब सडकमा पनि उठाउँछ।”