किम्फ २०२४ : २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै
काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को २१औं संस्करण आगामी बुधबार (जेठ १६ गते)देखि शुरू हुँदै छ।
किम्फको यस संस्करणमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै छन्। अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन्। यस्तै, नेपाल पानोरामा अन्तर्गत समकालीन नेपालको कथा उजागर गर्ने स्वदेशी प्रतिभाका रोमाञ्चक चलचित्रहरू प्रस्तुत हुनेछन्।
महोत्सवको शुरूआत इटालियन निर्देशक ब्रान्डो क्विलिचीको द टाइगर्स नेस्टको एशिया प्रिमियरबाट हुनेछ। नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई शिकारीबाट बचाउन साहसिक यात्रामा निस्कन्छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा ‘एभरेस्ट रिभिजिटेड १९२४-२०२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्वीरहरूको प्रदर्शनी हुनेछ।
यसैगरी, नेपाल-दक्षिण कोरिया द्विपक्षीय सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका चलचित्रहरूको पनि विशेष प्रदर्शनी हुनेछ।
किम्फ फाउन्डेशनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार यस संस्करणको किम्फले चलचित्र र विभिन्न कार्यक्रमका शृंखला मार्फत दर्शकलाई मनोरञ्जनसँगै नेपाली समाजलाई प्रभाव पार्ने विषयहरूको आलोचनात्मक संवादमा संलग्न गराउनेछ।
महोत्सवको कार्यक्रम तालिका :
महोत्सवमा ‘माउन्टेन्स म्याटर- अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तरक्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘विमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछ। यस्तै, ब्रिटिश काउन्सिलसँगको सहकार्यमा ‘च्याम्पियनिङ योङ फिल्ममेकर्स’ शीर्षकमा स्क्रीनिङ र प्यानल छलफल हुनेछ भने कट.कथा फोरम मार्फत नेपाली वृत्तचित्रका लागि कथा ‘पिच’ गर्ने सत्र पनि हुनेछ। स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन (एसडीसी)को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याब रहनेछ।
किम्फ २०२४ को निर्णायक मण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीजरल्यान्ड) रहेका छन्। अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई एक हजार ५०० अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई एक हजार ५०० डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिनेछ। यस्तै, नेपाल पानोरमा अन्तर्गतका सर्वोत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रले क्रमशः एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, दर्शक पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
यस संस्करणको किम्फ काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुँदै छ। महोत्सवको टिकट र सिजनल पास खल्ती एपबाट प्राप्त गर्न सकिनेछ। टिकटको मूल्य १५० (विद्यार्थीहरूका लागि १०० रुपैयाँ) तोकिएको छ।
महोत्सव जेठ २० गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुँदै छ।