एशियाका मिडियाको सञ्जालद्वारा सिरोहिया पक्राउप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहाललाई पत्र
एशियाका मिडियाहरूको सञ्जाल एशिया न्यूज नेटवर्क (एएनएन)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएर कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ।
एएनएनका अध्यक्ष महाफुज अमनले पठाएको पत्रमा यस्ता गतिविधिले लोकतान्त्रिक देशकै प्रतिष्ठामा आँच आउने उल्लेख छ। प्रधानमन्त्री दाहाललाई पठाइएको पत्रमा भनिएको छ, ‘मिडियाले कुनै राजनीतिज्ञबारे कुनै अनुसन्धान गर्छन् र यस्तो घटना हुन्छ भने यसले लोकतान्त्रिक देशका रूपमा नेपालको प्रतिष्ठा र प्रेसप्रतिको व्यवहारमा आँच आउनेछ।’
सिरोहियालाई कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको घटना मिडियालाई धम्की भएको उल्लेख गर्दै चिन्ता जनाइएको छ। यस विषयमा निष्पक्ष र न्यायपूर्ण छानबिन हुनुपर्ने माग समेत गरिएको छ।
पत्रमा भनिएको छ, ‘हामी महामहिमलाई थप प्रहरी कारबाही रोक्न, निष्पक्ष र उचित कानूनी उपचारको सुनिश्चित तुरुन्तै गरी नेपालको लोकतन्त्रको प्रतिष्ठा, विश्वसनीयता र प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने देशका रूपमा रहेको देखाउनका लागि विनम्रतापूर्वक अनुरोध गर्छौं।’
एएनएनले थाइल्यान्डस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो। एएनएनमा एशियाका १९ देशका २० वटा मूलधारका मिडिया आबद्ध छन्।
नागरिकता सम्बन्धी विवादमा प्रहरीले जेठ ८ गते सिरोहियालाई काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई धनुषा लगिएको छ भने जिल्ला अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ।