दश महीनामा थपियो ९८ अर्ब ऋण
मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋण करीब २४ खर्ब रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो १० महीनामा रु.९८ अर्ब ऋण थपिएको छ। यो चालू आर्थिक वर्षको १० महीनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।
चालू आव २०८०/८१ को शुरूमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। २०८१ वैशाख मसान्तसम्म ९८ अर्ब आठ करोड थपिएर २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।
त्यस्तै, वैशाख महीनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थप भएको छ। कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ।
गत वैशाख मसान्तसम्म कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ बराबर छ। यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २०.७६ प्रतिशत बराबर हो।
त्यस्तै, बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋण २१.२६ प्रतिशत बराबर हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको वैशाख मसान्तसम्म सरकारले दुई खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ बराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ बराबर सावाँ-ब्याज भुक्तान गरेको छ। यस अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब रुपैयाँ र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर हो।
त्यस्तै, सावाँ-ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको सावाँ-ब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड रुपैयाँ र बाह्य ऋणको सावाँ-ब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँ बराबर भुक्तानी भएको छ।
गत वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ। चालू आवमा चार खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्म दुई खर्ब ६५ अर्ब ऋण प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण ५८.४५ प्रतिशत प्राप्त भएको छ। त्यसमध्ये आन्तरिक ऋण ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत छ।
चालू आर्थिक वर्षका लागि सार्वजनिक ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएको थियो। वैशाख मसान्तसम्म दुई खर्ब २२ अर्ब रुपैयाँ बराबर भुक्तानी भएको छ। यो वार्षिक विनियोजनका आधारमा ७०.५७ प्रतिशत बराबर हो। -रासस