एक स्वाभिमानी कविको गीत
सरल र बोधगम्य भाषा, कथा भन्ने मौलिक शैली अनि आफ्नै गाउँघरको माटोबाट टिपिएका ताजा बिम्बविधानले ‘केवाफुङको गीत’लाई सुन्दर बनाएको छ।
मानव सभ्यताको इतिहासका रुपमा लिइने मुन्धुम किराँत समुदायको धर्मग्रन्थ तथा लोकसाहित्य। मुन्धुमी मिथकका एक पात्र हुन्, केवाफुङ। त्यही केवाफुङलाई आजको समयसँग जोडेर कवि गगन योक्पाङ्देनले कविताकृति ल्याएका छन्, केवाफुङको गीत।
सरल र बोधगम्य भाषा, मिलेका वाक्यगठन र शब्दसंरचना, कथा भन्ने मौलिक शैली अनि आफ्नै गाउँघरको माटोबाट टिपिएका ताजा बिम्बविधान भेटिन्छन्, केवाफुङको गीतमा। अधिकांस कविताको भावमा कोमलता र लयात्मकता पाइन्छ।
समसामयिक विषयमा लेखिएका कवितामा जीवन, प्रेम, सुखदुःख, सपना र संघर्षको गहिरो अनुभूति अभिव्यक्त भएको छ। ३८ वटा कविता संग्रहित कृतिमा ‘उपहार’ शीर्षकको कविताबाट शुरू भएर ‘साइकियाट्रिक वार्डमा देश’ शीर्षकको कवितामा अन्त्य गरिएको छ।
आफ्नै पौरखको हिमाल उभ्याएर खुशीको इन्द्रेणी टाँगिरहेको वा पसिनाको कुलो हालेर जिन्दगी लहहल झुलाइरहेको वा श्रमका बुँद रोपेर सपनाको फूल फुलाइरहेको। यस्तै एउटा इमान्दार र लगनशिल कविले जुन स्वाभिमानको परख गर्छ, ठ्याक्कै त्यही स्वाभिमानका निश्चल र स्वच्छ मनोभावना असरल्ल बगेका छन् केवाफुङको गीतमा।
कवि आफ्नै जाँगर र परिश्रममा देशको विकास र परिवर्तन सम्भव देख्छन्। पाखा, पखेरा, खेत र खलिहानमा देशको समृद्धि सलबलाएको देख्छन्। ठूलाठूला विचार र सिद्धान्तका हाउगुजिमा हराउनु छैन, महत्वाकांक्षा र अहम्को चर्को नारा बक्नु छैन। बरु व्यक्त गर्नु छ, हृदयका मर्मस्पर्शी संवेदना, प्रेमका मिठा मिठा अनुभूति, बाल्यकालका सुन्दर स्मृति। स्वतन्त्रता, सपना र उज्यालोको गीत।
उनका कवितामा मुख्यतया मानवीय स्वर मुखरित भएको पाइन्छ। सामाजिक मूल्यका सवाल टड्कारो उभिएको पाइन्छ। न्याय, समानता र समृद्धिको कामना उद्घाटित भएको पाइन्छ। कविताको केन्द्रमा समाज हुन्छ।
समाजको भित्रि तहमा पुगेर विविध आयामलाई नजिकबाट चिहाउन सक्नु कविको खुबि हो। समाजका पात्र र चरित्र, कथा र वेदना, उच्छवास र उहापोहले नै कवितामा प्राण भरेको छ। समाजको पिँधमा रहेका पात्रहरू उनका कविताका नायक हुन्। ‘मंगलनी बोजुको निद्रा’, ‘एउटा महान कलाकारको मृत्यु’, ‘पवन हलुवाइको दिनचर्या’, ‘साँइली सोल्टिनीको बैंस’, ‘उ यसरी बाँचिरहेछ’, ‘डेरावालको सम्झनामा’, ‘दशैं’ र वीरमान’जस्ता कवितामा यस्तै पात्र र चरित्रका कथा भनिएका छन्।
‘नानीहरू’ कवितामा कवि स्मृतिमा हराएका छन्। बाल्यकालका सम्झना गर्दै कविताको माध्ययमबाट पर्यावरणीय चिन्तन व्यक्त गरेका छन्। प्रविधिको ‘ह्याङओभर’मा रुमल्लिरहेको पुस्तालाई प्रकृतिको सौन्दर्यका अनेकौं आयामसँग साक्षात्कार गर्न कविले आह्वान गरेका छन्। ‘अभिशप्त रुख’ कवितामा पनि प्रकृतिको त्यहि चिन्तन अभिव्यक्त भएको छ। ‘बाटोको आयु’ कवितामा समयसँगै छुटेको माया र सामिप्यको कथा छ।
केही कविता पारिवारिक विषयमा केन्द्रित छन्। परिवारप्रतिको माया, दायित्व र आत्मियताको रङ घोलिएका छन् ती कवितामा। ‘छोरीको आगमन’मा कवितामा छोरीप्रतिको माया देखाइएको छ। अर्को, ‘छोरीसँग एउटा मजदूर’ कवितामा पनि त्यस्तै कथा भनिएको छ।
‘मेरी हजुरनीलाई’ कवितामा कवि प्रेमिल भएका छन्। प्रेमिकालाई मेलामा भेटेर प्रेम साटासाट गर्ने अभिलाषा व्यक्त गरेका छन्। मेलामा भेटेर प्रेम गर्ने परम्परा लिम्बुदायभित्र पाइन्छ। तसर्थ यो कविताले लिम्बूको मुन्धुमी सौन्दर्यको प्रेम र हार्दिकताको बखान गरेको छ।
कवि योक्पाङ्देन दुःखलाई मनबाट छामेर लेख्छन्। हृदयबाट सुसेलेर लेख्छन्। दुःख, गरिबी, भोक, रोग र शोकले निम्त्याएको वेदना अलापेर संवेदनाको मार्मिक धुन निकाल्छन्। पसिनाको गीत, भरियाको कथा, छोरीसँग एउटा मजदूर कवितामा यस्तै दुःखको कहानी छ। कविताका हरेक हरफले अन्तरकुन्तरमा गहिरो स्पर्श गर्छन्। यी कविता कल्पेरभन्दा पनि निजी भोगाइले लेखिएको आभाष हुन्छ।
दुःख छ र नै संघर्षको अविराम यात्रा छ। मानिस जसबसम्म अस्तित्वमा छन् तबसम्म दुःख पनि अस्तित्वमा रहन्छ। जिन्दगीभरि पछ्याइरहने दुःखले मृत्युपछि मात्रै साथ छोड्दो हो। तैपनि नबाँच्ने छूट छैन। आमाप्रति कविता यही भाव समेटिएको छ।
अचेल आमा
मेरा अनिँदा आँखाहरू देखेर
सम्झाइरहनु हुन्छ
छोरा पिर नली मान्छेको दुख त
मरेपछि मात्र सकिन्छ।
छिमेकीलाई, एउटा परदेशीले, परदेशी मायालुलाई जस्ता कवितामा वैदेशिक रोजगारले निम्त्याएको पीडा समेटिएको छ। बाध्यताको कुम्लो बोकेर परदेशीनु आम नेपालीको बाध्यता हो। वैदेशिक रोजगारले निम्त्याएका समस्याबाट सम्बन्धित व्यक्ति मात्रै नभएर सिंगो देश नै प्रताडित छ। यसरी मानव संशाधन बाहिरिँदा आर्थिक रुपमा त योगदान पुर्याउला तर सामाजिक रुपमा भने जटिल समस्या निम्त्याउँछ।
लाखौं संख्यामा युवा जनशक्ति परदेशिएपछि देश कमजोर हुन्छ भन्ने कविको ठम्याइ छ। परदेशिएका युवालाई घर फर्किन आह्वान गरेका छन्।
तिम्रा शुभेच्छाहरू आएर
तिम्री बिरामी आमालाई
डोर्याउँदै डार्याउँदै अस्पताल पुर्याउँदैनन्।
*** *** ***
तिमी गएपछि
घर आलस्य ओढेर बसेको छ
कोठाकोठामा आलस्यले बास गरेको छ।
उपहार, उपेक्षित गीतका हरफ, तिम्रो उपनिवेश विरुद्ध, छोरीको चकचक, राष्ट्रिय झण्डाको इज्जत, एक बागी विचार कविता राजनीतिक छन्। नेताप्रतिको गुनासो, एकात्मक राज्यसत्ता विरुद्धको खबरदारी, भ्रष्ट राज्यसंयन्त्रप्रतिको चरम निरासा अनि विभेद र उत्पीडनमा परेका सीमान्तकृतको आक्रोश नै कविताको आवाज बनेको छ।
‘पानीको जीवन’, ‘मान्छे बन्ने क्रम’ र ‘बुद्धको अतिरिक्त कथा’ शीर्षकका कवितामा दर्शन झल्किन्छ। यी कविताले अध्यात्मको नजिक पुर्याउँछ। त्यससँगै जीवनप्रतिको कविको मौलिक दृष्टिकोण पनि पाइन्छ।
कविले लेख्ने भनेकै आफूले बाँचेको समय र उभिएको भूगोलकै कुरा न हुन्। यस कविता संग्रहमा पनि कविले आफ्नै वरिपरिका कथा टिपेका छन्। कविको लेखनीको परिवेश र भावभूमि पूर्वी लिम्बुवान क्षेत्र हो। यस क्षेत्रमा विद्ममान अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक मूल्य मान्यताको जठजोड नै समग्रमा कविको लेखनीको समुच्चय हो।
यति हुँदाहुँदै पनि कवि योक्पाङ्देनका कवितामा केही कमजोरी पनि भेटिन्छन्। केही कवितामा कविको बुझाइ अपरिपक्व लाग्छ। जस्तो ‘हर्कबहादुर’ कवितामा उपेक्षित र दमित हुँदाहुँदै पनि विद्रोहको कुनै गुञ्जायस नभएको निरिह पात्रको रुपमा चित्रित गरिएको छ। छोरीसँग सम्बन्धित केही कविताका शीर्षक मिल्दाजुल्दा छन्। शीर्षक छनोटमा अलि मिहिनेत गरे विधितता आउन सक्थ्यो।
तथापि, पहिलो कृतिमै कवि योक्पाङ्देनले आफ्नो छुट्टै छाप छोडेको छन्। स्थानीय स्वाद र रैथाने चेतले कवितामा आफ्नोपन भरेका छन्।