सामुदायिक कुकुर व्यवस्थापन गर्न बन्ध्याकरण गरिंदै
रातसाँझ हिंडडुल गर्नै अप्ठ्यारो पारेपछि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न थालिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजार क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको हो। रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा बन्ध्याकरण अभियान शुरू गरिएको नगरपालिकाका पशु विकास अधिकृत डा. निशान दाहालले बताए।
अहिलेसम्म ४० वटा कुकुरको बन्ध्याकरण गरिएको उनले बताए। जसमा ३५ वटा सामुदायिक र पाँच वटा घर पालुवा कुकुर छन्।
दिक्तेल बजार क्षेत्रका कुकुरलाई नियन्त्रणमा लिन नेपाली सेनाको सहयोग लिइएको छ। सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिने र त्यसपछि कृषि विज्ञान विश्वविद्यालयको टोलीले बन्ध्याकरण गरिरहेको डा. दाहालले बताए।
दिक्तेल बजारमा आवतजावत गर्दा सामुदायिक कुकुरले टोक्ने गरेको जनगुनासो आएपछि व्यवस्थापनको प्रयास गरिएको मेयर तीर्थराज भट्टराईले बताए। बन्ध्याकरणका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. मनोज शाहको नेतृत्वमा टोली खटिएको छ।
बजार क्षेत्रमा डुलिराख्ने सामुदायिक कुकुरले विशेष गरेर विद्यार्थी र यात्रुलाई समस्या भइरहेको छ। बिहानै स्कूल तथा कलेज जाँदा सामुदायिक कुकुरले टोक्ने गरेको गुनासो आएको मेयर भट्टराईले बताए। त्यस्तै, साँझबिहान गाडी चढ्न किरातचोक जाने यात्रुले पनि कुकुरले आक्रमण गरेको गुनासो गरेका छन्।
सामुदायिक कुकुर व्यवस्थापनका लागि बन्ध्याकरणको विधि अपनाइएको मेयर भट्टराईको भनाइ छ। यसका लागि नगरपालिकाले गत वैशाख १५ गते विश्वविद्यालयसँग समझदारी गरेको थियो। समझदारी अनुसार विश्वविद्यालयले पशु तथा बाली स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। त्यसैको एक पाटोका रूपमा कुकुरको बन्ध्याकरण गर्न थालिएको हो।
दिक्तेल बजारमा यसअघि पनि सामुदायिक कुकुरले समस्या भएको थियो। कुकुरले टोक्न थालेपछि स्थानीय बासिन्दाले मारेका थिए। २०७६ भदौमा दिक्तेलको त्रिवेणीचोकमा कुकुरलाई कुटेर मारिएको भिडिओ सार्वजनिक भएपछि पशु अधिकारकर्मीले विरोध जनाएका थिए। त्यस्तो अवस्था आउन नदिन व्यवस्थापन शुरू गरिएको मेयर भट्टराईले बताए।