मुटुमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
मुटुमा समस्या देखिएपछि कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ।
नागरिकता सम्बन्धी विवादमा पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा रहेका सिरोहियालाई अस्पताल भर्ना गरिएको हो। उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना गरिएको उनका कानून व्यवसायी रमण कर्णले बताए।
उनलाई शुक्रबार साँझ प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना गरिएको थियो। त्यहाँ न्यूरोलोजी लगायतको सुविधा नभएकाले काव्या अस्पतालमा लगिएको छ।
काव्या अस्पतालका चिकित्सक डा. एसके सिंहले भर्ना गरेर चिकित्सकसँग सल्लाहमा उपचार भइरहेको बताए। सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको परिवारजनले बताएका छन्।
स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँगको सल्लाहमा थप उपचार अघि बढाएको अस्पतालले जनाएको छ।
सिरोहियालाई शुक्रबार जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। उनलाई जेठ ८ मा काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो।