पूर्वी र पश्चिमी पहाडमा वर्षाको सम्भावना
स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज देशका पूर्वी र पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।
आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको आकलन छ। त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।