सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको छ।
प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो। जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए।
नागरिकता सम्बन्धी मुद्दामा सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। अनुसन्धानका लागि धनुषा ल्याइएका सिरोहियालाई यसअघि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
यसअघि दिएको अनुमति जेठ १० गतेसम्म थियो। हिजो सार्वजनिक बिदा परेकाले प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो। आज अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको हो।
उनलाई नागरिकता कीर्तेको आरोप लगाइएको छ। सिरोहियाले भने आफूले एउटा मात्र नागरिकता लिएको र कुनै फेरबदल नगरेको प्रष्टीकरण दिएका छन्।
यो पनि पढ्नुहोस् : ‘मैले एउटा मात्र नागरिकता लिएको छु’