प्राज्ञिक कर्मलाई प्रविधिसँग जोड्न चुनौती भएको अनुसन्धाताले औंल्याएका छन्।
काठमाडौंको पिपल्स क्याम्पसले आयोजना गरेको दुईदिने व्यवस्थापन सम्मेलनमा सहभागी अनुसन्धाताले यस्तो चुनौती औंल्याएका हुन्। सम्मेलनमा विद्यावारिधि तथा एमफील गरिरहेका अनुसन्धाता सहभागी थिए। उनीहरूले आफ्नो शोधमा आधारित भएर प्रस्तुति दिएका थिए।
सम्मेलनमा विशेष प्रवचन दिंदै प्रा.डा. अह्रन स्थापितले प्रविधिको विकासले आजकल सुन्ने र सुनाउने माध्यम सहज भएको बताए। अब प्राज्ञिक कर्ममा सुन्ने र सुनाउने काममा प्रविधिको उपयोग गर्नुपर्ने उनको जोड थियो।
अर्काको कुरा सुन्ने अभ्यास र धैर्यको अभावमा सक्रिय सिकाइ विकास हुन नसक्ने प्रा.डा. स्थापितले औंल्याए। “कुनै पनि कामलाई परिणाममुखी बनाउन र लक्ष्य हासिल गर्न सेवाग्राहीको कुरा सुन्नुपर्छ,” स्थापितले भने, “शिक्षकले विद्यार्थीको, सेवाप्रदायकले लाभग्राहीको, उत्पादकले उपभोक्ताको कुरा सुन्नुपर्छ। कुरा नसुन्दा दिन खोजिएको सन्देश नपुग्ने मात्र होइन, बरु गलत सन्देश जाने डर हुन्छ।”
त्यस्तै, सम्मेलनका सहभागी शंकरनाथ अधिकारीले साना तथा मझौला उद्योगमा डिजिटल रूपान्तरणको प्रभावबारे आफ्नो अनुसन्धानका निष्कर्ष सुनाएका थिए। गरीबी निवारणमा लघुवित्तको भूमिका शीर्षकको अनुसन्धानमा धादिङको चरौंदीको अनुभव शंकर ढोडारीले सुनाए।
अनुसन्धाता राजकुमार श्रेष्ठले काठमाडौंका शैक्षिक संस्थामा कार्यरत शिक्षकको रोजगार सन्तुष्टिबारे अनुसन्धान निष्कर्ष सुनाएका थिए। अर्का अनुसन्धाता निश्चल रिसालले नेपालका १० जीवन बिमा कम्पनीको १६ वर्ष अवधिको तथ्यांक केलाएर कार्यव्यापारलाई विश्लेषण गरेका थिए।
सम्मेलनमा अर्का अनुसन्धाता प्रज्वलसिंह थापाले नागरिकलाई सशक्त बनाउन भनेर निर्माण गरिएको पाठ्यक्रममा सांस्कृतिक पक्षको ठूलो महत्त्व हुने बताए। पाठ्यक्रम निर्माणमा संलग्नहरूको सामाजिक चेत तथा स्वार्थले पनि गहिरो अर्थ राख्ने हुँदा प्रविधिको विकाससँगै ‘आलोचनात्मक चेत’ विकास गर्ने पाठ्यक्रम बन्नुपर्ने धारणा व्यक्त गरेका थिए। सम्मेलनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए।
क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले शिक्षणमा संलग्न सहकर्मीलाई अनुसन्धानको अभिमुखीकरणमा सहायता होस् भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। यससँगै विद्यार्थीलाई पनि अनुसन्धान अभिमुखीकरण गर्ने उद्देश्य रहेको उनको भनाइ थियो।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको सम्मेलनमा विद्यार्थी तथा शिक्षक सहभागी थिए। क्याम्पसले आगामी दिनमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने कुँवरले बताए।