फेरि फैलिन थाल्यो डेंगी, ५७ जिल्लामा संक्रमण
मौसम परिवर्तन भएसँगै फेरि डेंगी फैलिन थालेको छ भने अहिलेसम्म ५७ जिल्लामा संक्रमण देखिएको छ।
पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए। अहिलेसम्म ५७ जिल्लामा ९०४ जनामा संक्रमण देखिएको डा. दाहालले बताए।
डेंगीको जोखिम बढ्दै गएकाले सचेतना अपनाउनुपर्ने उनको भनाइ छ। “पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्छ,” डा. दाहालले भने, “संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्ने अभियान सञ्चालन गर्नुपर्छ।”
गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगी संक्रमण देखिएको थियो। यस पटक कुनै पनि जिल्लामा धेरै संक्रमण देखिएको छैन। जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको उनले बताए।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्छन्। ती फुलबाट लार्भा निस्कन्छन् र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्छ। डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिंडौलाको मासु दुख्ने लगायत लक्षण देखिन्छन्।
लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले सुझाएको छ। –रासस