नेपालमा देखिए कोरोनाका सबभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’
कोभिड-१९ का नयाँ ‘सबभेरिएन्ट’ नेपालमा पनि देखिएका छन्।
जनस्वास्थ्य प्रयोगशालाले गरेको जीनोम सिक्वेन्सिङबाट कोभिड-१९ को नयाँ ‘सबभेरिएन्ट’ भेटिएको पुष्टि भएको हो। अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ नयाँ भेरिएन्ट फेला परेका थिए। नेपालमा पुष्टि भएका ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोन भेरिएन्टका सबभेरिएन्ट हुन्।
राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा देखिएको कोभिड-१९ को ओमिक्रोन भेरिएन्टका नयाँ सबभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएका हुन्।
प्रयोगशालाले ४० वटा कोभिड संक्रमितको जीनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
हाल यी भेरिएन्ट अमेरिका, भारत र सिंगापुर जस्ता देशमा भेटिएका छन्। विश्व स्वास्थ्य संगठनले यसबाट हुने संक्रमण घातक नभए पनि दीर्घरोगी र बालबालिकाले भने सचेत हुनुपर्ने जनाएको छ।