सवारी साहित्य
सवारीचालकका लागि ‘ट्रक साहित्य’ सिर्जनात्मक अभिव्यक्तिको माध्यम बनेको छ।
Buddha Was Born in Nepal
आमाबुबाको आशीर्वाद
उडायो कान्छी तिम्रो पछ्यौरी मेरो रफ्तारले
पैसा विनाको ATM र जब विनाको KTM उस्तै रहेछ
Don’t Tich Your Father’s How 2 Drive
नेपालका सडकमा भेटिने प्रायः लामो दूरीका ट्रक र सार्वजनिक सवारीका पछाडि लेखिएका यस्ता पंक्ति ती सवारीचालकका सिर्जनात्मक अभिव्यक्ति र सामाजिक टिप्पणीको माध्यम त हो नै, यिनले गुडिरहेका कला र साहित्यलाई पनि प्रतिनिधित्व गर्छन्। टिपर र बसहरू आफू पछाडिका सवारीचालकलाई ‘हर्न प्लिज’ र ‘स्पीड कन्ट्रोल’ भन्दै सुझाव पनि दिइरहेका हुन्छन्। कसैले चाहिं आफूले आफैंलाई ‘रोड किङ’ भनिरहेका हुन्छन्।
यस्ता ‘ट्रक साहित्य’ र ‘कला’ को अहिले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘सवारी कथाहरू’ शीर्षकमा प्रदर्शनी भइरहेको छ। फोटोग्राफर तथा लेखक श्रावस्ती घोष दस्तीदार अनि लन्डनमा बस्दै आएका पत्रकार आभूषण गौतमका तस्वीर र ग्राफिक्स डिजाइनर तथा कलाकार शुभ जोशीका डिजिटल इलस्ट्रेशनहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शित तस्वीरहरूले चालक र सवारीधनीले सवारीसाधनमा प्राण भर्न गरेको प्रयत्नलाई त दर्शाउँछन् नै, नेपाली समाजको युगचेतनालाई पनि प्रतिविम्बित गर्छन्। प्रदर्शनीमा ‘प्रेम र मृत्यु’ र ‘दर्शन’ विधा अन्तर्गत हास्यपूर्ण अनि गहन सवारी साहित्यका तस्वीर सामेल छन्।
पत्रकार गौतमले कैद गरेको एक मालवाहक ट्रकको तस्वीरमा उल्लेख भएको पंक्तिले नेपालको उच्च सडक दुर्घटना दरलाई दर्शाउँछ : ‘डोनेट ब्लड बट नट अन रोड’ (रक्तदान गर, तर सडकमा होइन)। यस्तै, केराका पात बोकेको जीपमा युवा बसाइँसराइको मार्मिक विवरणको आडमा एकतर्फी प्रेमको सन्देश व्यक्त गरिएको छ।
गौतमकै तस्वीरमध्ये एउटामा देखिन्छ, सेतो माइक्रोबस पछाडि लेखिएको ‘नो स्पीड नो उल्टी’ (बिस्तारै गइन्छ, बान्ता हुँदैन)। शायद यात्रा गर्दा बान्ता हुनेहरूलाई आफ्नो सवारीमा आकर्षित गर्न अपनाइएको व्यावसायिक रणनीति हो यो।
घोषका तस्वीरमा सवारीसाधनमा बनाइएका भड्किला कलाकृति देख्न पाइन्छ- हरियो फाँटमा शान्त हिंडिरहेको हरिणदेखि डरलाग्दो स्वरूपमा ट्रकको पछाडिको ढोकाबाट यात्रुलाई चियाइरहेको चर्चित सुपरभिलेन जोकरसम्म।
यस्ता कैयौं कलाकृतिमा हिन्दू देवीदेवताको पनि चित्रण पाइन्छ। बुद्ध, राजा वीरेन्द्रको परिवार, अन्तर्राष्ट्रिय फूटबल खेलाडी, बलिउड कलाकार र अझ पछिल्लो समय त कालो चश्मा लगाएका काठमाडौंका मेयर बालेन साहका तस्वीर पनि देखिन्छन्।
“मलाई सबै कुरा र सबै जनामा सौन्दर्य खोज्न मन लाग्छ,” गत वैशाख ३१ गते प्रदर्शनीको उद्घाटनका वेला घोषले भनेकी थिइन्, “सडक र गराजका धूलो र अस्तव्यस्तताबीच मैले अनाकर्षक धातुमा सजगतापूर्वक कोरिएका रङ र चित्रहरूमा ध्यान केन्द्रित गर्न खोजेकी हुँ।”
घोषले यस्ता कलाकृति बनाउन प्रयोग हुने सामग्रीका तस्वीर तथा कलाकारका अडियो जस्ता नेपथ्यका कामहरू पनि संगृहीत गरेकी छन्। गौतमले पनि सम्झनलायक पंक्तिहरू समावेश सवारी साहित्यहरू सन् २०१३ देखि नै आफ्नो इन्स्टाग्राम अकाउन्ट लिटरेचर अन ह्वील्समा संग्रह गर्दै आएका छन्।
कलाकार शुभ जोशीले पनि व्यंग्यात्मक र उल्लेख्य सवारी साहित्य सम्बन्धी डिजिटल इलस्ट्रेशन्स बनाएकी छन्। जोशीले आफ्ना कलामा पुरुषवादी कथनलाई महिलावादी कथनले प्रतिस्थापन गरेकी छिन्।
परम्परागत लुगामा मोटरसाइकल हाँकिरहेकी महिला र उनको काँधमा हात राखेर पछाडि बसेका एक पुरुषको इलस्ट्रेशन यस्तै एउटा उदाहरण हो जहाँ लेखिएको छ, ‘कान्छा Love मा धोका खानुभन्दा आऊ, मेरो बाइक पछाडि बसेर KTM को धूलो खाऊ।’
“केही सन्देशहरू अलि बढी पुरुषकेन्द्रित थिए, त्यसैले शुभले तिनलाई उल्टाइन्,” सिद्धार्थ आर्ट ग्यालरीकी क्युरेटर संगीता थापाले प्रस्ट पारिन्।
यस्ता ट्रक साहित्यलाई डिजिटल आर्टमा परिणत गर्नु जोशीका लागि चुनौती थियो। “माइक्रो, टेम्पो र बसमा यात्रा गर्दा मैले धेरै पटक ट्रक साहित्य अवलोकन गरेकी थिएँ, तर यो प्रोजेक्टमा काम गरिरहँदा मैले तिनलाई नयाँ तरीकाले हेरें,” जोशीले भनिन्, “सिर्जनाभन्दा पनि पर रमाइलोपन, स्वतन्त्रता र जीवनको स्वीकार्यता जस्ता ट्रक कलाको मर्मले ममा गहिरो छाप छोड्यो।”
प्रदर्शनीमा ऊर्जा आचार्य, जुलिन राजभण्डारी र सेजोल प्रधानांगले बनाएको सवारी साहित्य वृत्तचित्र पनि समावेश छ। वृत्तचित्रमा चालक, सहचालक र गराजका कर्मचारीको अन्तर्वार्ता छ।
प्रदर्शनीमा आगन्तुकका लागि अन्तरक्रियात्मक ‘पजल’ पनि व्यवस्था गरिएको छ, जसलाई उनीहरूले मिलाएर आफ्नै ट्रक साहित्य बनाउन सक्छन्। केही आगन्तुकले आफ्नै ट्रक साहित्य बनाएका पनि छन् : ‘तिम्रो ढाकाटोपी भरी हनिमुन मनाउला’, ‘धोका खानेलाई Bike को रफ्तारले पोखरामा।’
घोष भन्छिन्, “हामी धेरैजसोले यस्ता कला उपेक्षा गर्छौं, तर ट्रक चालक, सवारीधनी र कलाकारका लागि यो उनीहरूको जीविकोपार्जन हो, ट्रक उनीहरूको घर हो।”
हुन त राजमार्ग ठप्प भएर घन्टौं बिताउनुपर्दा आक्रोशित यात्रुलाई ट्रकका पछाडि बनाइएको भगवान् शिवले गाँजा सेवन गरेको चित्र रमाइलो नलाग्न सक्छ, तर यी सवारीचालकका लागि ट्रक नै उनीहरूको क्यानभास हो, कार्यस्थल हो र पूजास्थान हो। जीवनयापनको साधन सँगसँगै सवारीका भित्ताहरू साहित्य र सामाजिक राजनीतिक परावर्तनका लागि खाली पाना पनि हुन्।
सवारी कथाहरूको जेठ १४ गतेसम्म प्रदर्शनी हुँदै छ। आइतबारदेखि शुक्रबार हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म र शनिबार मध्याह्न १२ देखि अपराह्न ५ बजेसम्म प्रदर्शनी हुनेछ।
(नेपाली टाइम्सबाट असीम तिमल्सिनाले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)