आरोहीको भीडले सगरमाथामा निम्त्याएको त्यो दुर्घटना
आरोहीहरू शिखरबाट सगरमाथा आधारशिविरतर्फ फर्किएर इन्टरनेटको पहुँचमा आएसँगै आआफ्नो आरोहणका तस्वीर-भिडिओ सामाजिक सञ्जालमा राख्न थालेका छन्। जसमा भीडभाड, अस्तव्यस्तता र डरलाग्दा क्षण समेत कैद भएका छन्।
गत जेठ ८ गते बिहान ६ बजे एलिट एक्सपेडले व्यवस्थापन गरेको टोलीसँगै आरोही विनायक जय मल्ल सगरमाथाको शिखरमा पुगेका थिए। यो अत्यन्तै व्यस्त दिन थियो।
मल्लको टोली शिखरबाट फर्किएर हिलरी स्टेप पार गर्दैगर्दा अरू आरोही पनि बिस्तारै हिंड्दै थिए। तर सगरमाथाको हिउँको छानोले सयौं आरोहीको भार थेग्न सकिरहेको थिएन। एक्कासि उनीहरूभन्दा केही मिटर अगाडि हिउँको रास खस्यो। ‘चार जना आरोही झन्डै मारिएका थिए, धन्न डोरीमा झुन्डिएर आफैं माथि उक्लिए। तर दुःखद, दुई जना आरोही अझै बेपत्ता छन्,’ मल्लले आफ्नो इन्स्टाग्राममा राखेको भिडिओ र त्यसको विवरणमा उल्लेख छ।
भिडिओमै देखिन्छ, आरोहीहरू डोरीमा झुन्डिएर जोडतोडसाथ सुरक्षित स्थानमा उक्लिन खोजिरहेका। त्यति वेला बाटोमा आरोहीको लस्कर भएकाले आफू पनि निस्कन नसकेको मल्लले बताए।
आरोही बाटामै अड्किएकाले अक्सिजन पनि निख्रिंदै थियो। धन्न मल्लले नै केही बेरपछि तल झर्ने नयाँ बाटो पहिल्याए र बिस्तारै स्थिति सहज भयो।
मल्लको टोलीले खिचेको भिडिओमा हिउँको रास खसेको नदेखिए पनि घटनापूर्व र घटनापछिका दृश्य समावेश छन्। भिडिओले सगरमाथाको भीडभाडलाई भने प्रस्टसँग चित्रण गरेको छ।
“मेरो पहिलेका भन्दा यसपालिको सगरमाथाको आरोहण भिन्न महसूस भयो,” मल्लले भने, “त्यहाँ कमलो हिउँ थियो, हिउँका रास धेरै थिए र चट्टानी क्षेत्र हिउँले ढाकिएको थियो। अरू त अरू मौसम केन्द्र पनि हिउँले आधी छोपेको थियो।”
जेठ ८ गतेको यस घटनाले विभिन्न हिमाली दुर्घटना पनि सम्झाएको छ। सन् २०२१ मा ब्रोड पीकमा डोरी चुँडिंदा रूसी आरोही नस्त्या रुनोभा र अलि बेरपछि कोरियाली आरोही किम होङबिन हलचल नै गर्न नसक्ने गरी अड्किएका थिए। उनीहरूभन्दा केही माथि पनि एक दर्जनभन्दा बढी आरोही कुरिरहेका थिए, डोरी नै नभएपछि उनीहरू पनि ओर्लन सकेनन्। यीमध्ये धेरै जना ‘फ्रस्टबाइट’ (हिमदंश) को शिकार भएका थिए। जेनतेन रुनोभालाई त उद्धार गरियो, तर किमको भने ज्यान गयो।
यता सगरमाथामा भने अर्का एक आरोहीको पनि मृत्यु भएको छ। “शिखरबाट फर्किने क्रममा चौथो शिविरभन्दा केही माथि आठ हजार ३०० मिटरमा (जेठ ९ गते बुधबार) पोखराका विनोदबाबु बस्ताकोटीको ज्यान गयो,” बूकिङ ओन प्रालिका नर्बिन मगरले द हिमालयन टाइम्ससँग भनेका छन्।
यस वर्ष सगरमाथामा ज्यान गुमाउने बस्ताकोटी छैटौं व्यक्ति हुन्, ल्होत्सेतर्फ हिंडेका रोमानियाका गाब्रियल तबारालाई समेत गणना गर्ने हो भने सातौं। सगरमाथाको तेस्रो शिविरमा तबाराको ज्यान गएको थियो।
(एक्सप्लोरर्स वेभबाट गरिएको अनुवाद।)