राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्य गर्न आफू क्रियाशील रहेको जानकारी दिएका थिए।
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलको विरोधले संसद् चल्न सकेको छैन। विपक्षी दलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न देखिएको भन्दै संसदीय छानबिनको माग गर्दै आएका छन्।
संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र विपक्षी दल सहमत देखिए पनि कार्यक्षेत्रबारे टुंगो लाग्न सकेको छैन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने अडान लिएको छ भने सत्तापक्षले व्यक्तिविशेषको नाम तोक्न नहुने अडान लिएको छ।