सिरोहियाको पक्राउमा निजी क्षेत्रको ध्यानाकर्षण
निजी क्षेत्रका प्रमुख तीन संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
तीनै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने र उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ ध्यानाकर्षण गराएका छन्। विज्ञप्तिमा कानून विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा स्पष्ट भए पनि उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्नु उचित नभएको तर्क गरिएको छ।
विगतदेखि नै निजी क्षेत्रका संस्थाले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने माग राख्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जोकोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुन्नुपर्ने संस्थाको भनाइ छ।
थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिन र आरोप प्रमाणित भएपछि मात्रै कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने व्यवस्था गर्न तीनै संस्थाले आग्रह गरेका छन्।
व्यवसायीको मानमर्दन गरेर तथा उनीहरूलाई हतोत्साही बनाएर लगानीको वातावरण नबन्ने हुँदा देशभित्र व्यावसायिक वातावरण खलबल्याउने काम कहींकतैबाट पनि नगर्न उनीहरूले आग्रह गरेका छन्।