खोला बगरमा मृत भेटियो पाटे बाघ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ।
विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीले बताए। स्थानीय बासिन्दाका अनुसार विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको थियो।
पानी पिएको स्थानबाट १०-१२ मिटर हिंडेपछि ढलेको अवस्थामा बाघ भेटिएको भनेर खबर आएको अधिकारीले बताए। स्थानीय बासिन्दाले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको उनले बताए।
बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। मृत बाघलाई सबडिभिजन वन कार्यालय दुम्किबास लगिएको छ।
आज यसबारे थप परीक्षण गरिने उनले जानकारी दिए। बर्दघाट सुस्तापूर्वमा गत फागुनयता तीन वटा पाटे बाघ मृत भेटिएका छन्।