भारतको चुनावले वीरगन्ज क्षेत्रका सीमानाका बन्द
भारतको लोक सभा चुनावलाई लिएर पर्साका सीमानाका बन्द गरिएका छन्।
बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते लोक सभाको निर्वाचन हुँदै छ। त्यसका लागि नाका बन्द गरिएको हो।
वीरगन्ज भन्सार कार्यालय सहितका पर्साका सीमानाका आज बिहान ६ बजेदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने भुसालले बताए।
प्रमुख जिल्ला अधिकारी भुसालले भने, “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्परा अनुसार नै नाका बन्द भएको हो।” पर्साको १०७ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिएको छ।
भारतमा छैटौं चरणको चुनाव हुँदै छ। लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ। अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ।
छैटौं चरणमा जेठ १२ गते ५८ सीट र सातौं चरणमा जेठ १९ गते ५७ सीटका लागि मतदान हुनेछ।