गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाएको भनेर गरिएको घोषणा संविधान विपरीत भएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मत पारित गर्न ३१ सांसदको समर्थन चाहिन्छ। तर सभामुख कृष्णप्रसाद धितालले ३० सांसदलाई नै बहुमत मानेर गत वैशाख २३ मा मुख्यमन्त्री अधिकारीको विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरेका थिए।
त्यस विरुद्ध पाण्डेले दिएको रिटमाथि कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासमा सुनुवाइ भइरहेको छ। बुधबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतले जनाएको छ।
यो मुद्दामाथि मंगलबार पनि सुनुवाइ भएको थियो। मंगलबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। यसमाथि जेठ १४ गते सुनुवाइ हुनेछ।
यसअघि वैशाख २८ मा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अल्पकालीन आदेशमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनिएको थियो।