शपथ बहिष्कार गरेका शाह कृषि मन्त्रालयमै फर्किए
शपथ बहिष्कार गरेका नेकपा (एमाले) सांसद विनोदकुमार शाह पुरानै मन्त्रालयमा फर्किएका छन्।
बुधबार शाह भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन्। उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि वैशाख १८ मा मुख्यमन्त्री यामलाल कँडेलले उनलाई कृषिमन्त्री नियुक्त गरेका थिए। तर भौतिक पूर्वाधार मन्त्रालयको माग गर्दै उनले शपथ बहिष्कार गरेका थिए।
त्यसपछि मुख्यमन्त्री कँडेलले जेठ २ मा मन्त्रालय हेरफेर गरेर आफूसँगै राखेका थिए। एक साता नबित्दै शाहले पुरानै मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
कर्णाली प्रदेशमा कँडेल र शाहबीच गुटगत मतभिन्नता छ। शपथ ग्रहण बहिष्कार गरेर काठमाडौं पुगेका शाहलाई एमाले केन्द्रले पुरानै मन्त्रालयमा फर्किन निर्देशन दिएको जनाइएको छ।