सहकारीपीडित फेरि आन्दोलनमा
सरकारले गरेको सहमति अनुसार रकम फिर्ता नपाएपछि देशभरका सहकारीपीडित फेरि आन्दोलनमा उत्रिने भएका छन्।
सहकारीपीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले फेरि आन्दोलनको घोषणा गरेको हो। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी जेठ ११ बाट दोस्रो चरणको आन्दोलन गर्ने सहकारीपीडितले बताएका छन्।
गत वर्ष जेठ २० मा सहकारीपीडितले आन्दोलन शुरू गरेका थिए। काठमाडौंको माइतीघर मण्डलबाट शुरू भएको आन्दोलन चर्किंदै गएपछि सरकारले सहमति गरेको थियो।
तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन्। जीवनभर शिक्षण पेशामा लागेर कमाएको रकम सहकारी सञ्चालकले हिनामिना गरेपछि आन्दोलनमा आउनुपरेको ७४ वर्षीय विश्वनाथ सिन्हाले बताए। “५२ वर्ष शिक्षण पेशामा लागेर कमाएको रकम बसेर खानुपर्ने वेलामा सहकारीमा डुब्यो, अहिले आन्दोलनमा आउनुपरेको छ,” सिन्हाले भने।
उनी जस्ता हजारौं बचतकर्ताको अर्बौं रकम हिनामिना भएको छ। बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन्।
सरकारले ८४ लाख सहकारीपीडितको आँखामा छारो हाल्ने काम गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठले बताए। “सरकारले नचाहेर सहकारी सञ्चालक उम्किएका हुन्, सडकमा आउँदा पनि पीडितले न्याय पाएनौं,” श्रेष्ठले भने। सहकारीमा रकम डुब्दा कैयौं परिवार बिचल्लीमा परेको उनले बताए।
राज्यले बचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन दिने तर कार्यान्वयन नगर्ने गरिरहेकाले पीडितको धैर्यले सीमा नाघेको अभियानका अध्यक्ष कुशलभ केसीको भनाइ छ। अब त सरकारको नियतमाथि नै शंका लाग्न थालेको केसीको भनाइ छ।
अहिलेसम्म भएका सहमति सरकारले कार्यान्वयन नगरेकाले फेरि आन्दोलनमा उत्रिनुपरेको उनले बताए। अभियानले जेठ ११ गते भृकुटीमण्डपबाट सडक आन्दोलन शुरू गर्ने भएको छ। यसलाई देशव्यापी बनाइने अध्यक्ष केसीले बताए।