सिरोहियालाई भोलिसम्म हिरासतमा राख्न अनुमति
कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई बिहीबारसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत, धनुषाका न्यायाधीश चुरामन खड्काको एकल इजलासले तीन दिन हिरातसमा राख्ने अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए।
“अदालतले पक्राउ गरिएको दिनदेखि लागू हुने गरी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ,” स्रेस्तेदार भट्टराईले हिमालखबरसँग भने, “हिजो पक्राउ गरिएकाले भोलिसम्म हिरासतमा राख्न पाइनेछ।”
सिरोहियालाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो। उनलाई धनुषा लगेर बुधबार अदालतमा उपस्थित गराइएको थियो।
उनलाई बिहीबारसम्म जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिनेछ।