प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र : प्रेसमाथि दबाब र त्रास सिर्जना गर्न खोजियो
कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीलाई लिएर सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन्।
सम्पादकहरूले बुधबार पठाएको संयुक्त पत्रमा प्रेसमाथि दबाब र त्रास सिर्जना गर्न खोजिएको जनाएका छन्। ‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ,’ सम्पादकहरूले भनेका छन्, ‘कुनै पनि सञ्चारगृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं।’
सिरोहियालाई सोधपुछ समेत नगरी गिरफ्तार गरेको विषयमा उनीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘सिरोहियालाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ,’ पत्रमा भनिएको छ।
यससँगै सम्पादकहरूले गृहमन्त्री रवि लामिछानेको विषयमा पनि छानबिनको माग गरेका छन्। ‘प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं- तपाईंको सरकारमा पहिलो पटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए,’ पत्रमा भनिएको छ, ‘अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेको भए पनि एकै पटक दुई देशको राहदानी बोकेको गम्भीर कसूरमा उनी सजायका भागीदार थिए र छन्।’
यससँगै सहकारी ठगीमा जोगिनका लागि गृहमन्त्री लामिछानेले मिडियाको आलोचना गरिरहेको उनीहरूले स्मरण गराएका छन्। गोर्खा मिडिया नेटवर्कमा सहकारी बचतकर्ताको एक अर्ब रुपैयाँ दुरुपयोग भएको पत्रमा उल्लेख गरिएको छ। ‘सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्,’ सम्पादकहरूले भनेका छन्, ‘हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।’
सम्पादकहरूको संयुक्त पत्र -
नेपालका प्रमुख सञ्चारमाध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लो पटक सञ्चारगृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौं-
१) कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानून सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानून विपरीत कुनै पनि काम गरेका भए कानूनले तोके बमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।
२) जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चारगृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।
३) प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं- तपाईंको सरकारमा पहिलो पटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकै पटक दुई देशको राहदानी बोकेको गम्भीर कसूरमा उनी सजायका भागीदार थिए र छन्।
४) गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करीब एक अर्ब रुपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्।
मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसद्मा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सीआईबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।
५) नेपाली सञ्चार जगत्मा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानूनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्नेछैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।
प्रतीक प्रधान - बाह्रखरी
शिव गाउँले - अनलाइनखबर
अमित ढकाल - सेतोपाटी
किरण नेपाल - खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे - देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल - अभियान
विमल गौतम - लोकान्तर
सागर पण्डित - नेपाल समाचारपत्र
राजाराम गौतम
सुजित महत - उकालो
पूर्णबहादुर बस्नेत - नेपाल खबर
बसन्त बस्नेत - अनलाइनखबर
हरिबहादुर थापा - बाह्रखरी
उमेश चौहान - कान्तिपुर
रामेश्वर बोहरा - उकालो
कोषराज कोइराला - रिपब्लिका दैनिक
गुणराज लुइँटेल - नागरिक दैनिक
रूपेश श्रेष्ठ - कान्तिपुर टिभी
अखण्ड भण्डारी - अन्नपूर्ण पोस्ट्
विश्वास बराल - द काठमान्डु पोस्ट
सरोज मिश्र - राजधानी दैनिक
अरुण बराल - खबरहब
कमलदेव भट्टराई - अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल - कान्तिपुर टिभी
रामप्रसाद दाहाल - रातोपाटी
दुर्गा खनाल - इकान्तिपुर
पुष्प दुलाल - क्लिकमान्डु