हराउँदै पाल्पाली रैथाने उत्पादन
बढ्दो उत्पादन लागतका कारण व्यवसायमा नाफा कम हुँदै गएपछि पाल्पालाई चिनाउने परम्परागत प्रविधि र रैथाने सीपमा आधारित उत्पादन हराउँदै गएका छन्।
धर्म गर्न दान गर्नु। पैसा कमाउन व्यापार गर्नु। यी दुवै गर्न उद्योग खोल्नु।
२०४१ सालतिर छिमेकी गाउँ प्रवानीपुरमा टाँगिएको भित्तेचित्रमा यो भनाइ पढेपछि पाल्पाको तानसेन-१, ध्रुवघाटका हरिकृष्ण कार्कीले ढाका कपडा उद्योग खोले। पाँच वर्षमै कार्की धागो कपडा उद्योगले फड्को मार्यो।
वर्षदिनमै ढाकाको कपडा बुन्ने तान थप्नुपर्यो। बजारको माग अनुसार उत्पादन बढाउन ५६ वटा तान टाँगे। कामदार पनि थपिंदै गए। दैनिक २०० कामदार खटिन्थे।
तर अहिले उनको उद्योगमा कपडा बुन्ने तानको आवाज बज्न छाडेको छ। सात वटा तानमा सीमित छ। कामदार घटेर सात जना मात्रै छन्। “कामदार पनि कहिले आउँछन्, कहिले आउँदैनन्,” कार्की भन्छन्, “पाल्पाको ढाका उद्योग त सकिनै आँट्यो।”
परम्परागत प्रविधि र रैथाने सीपको प्रयोग गरी मौलिक उत्पादन गर्ने थलोका रूपमा चिनिएको जिल्ला हो, पाल्पा। ढाका मात्रै होइन, पाल्पाली बजारमा मौलिक प्रविधिको प्रयोगबाट उत्पादित काँसको करुवा, माटाको भाँडा र फलामका औजार बेचिन्थे। राणाकालमा प्रशासनिक केन्द्र हुँदादेखि नै स्थानीय उत्पादनले परिचित थियो, पाल्पा।
तर पुस्तान्तरण नहुँदा यस्ता प्रविधि र ज्ञान हराउँदै गएको घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरे बताउँछन्। “पाल्पामा कुुनै वेला जीविकोपार्जनका लागि नभई नहुने रैथाने प्रविधि अहिले देखिन छाडेका छन्। एउटा पुस्ताबाट अर्को पुस्तामा प्रविधि र सीपको हस्तान्तरण नहुँदा यस्तो भएको हो,” घिमिरे भन्छन्।
हराउँदै गएको रैथाने प्रविधिमध्येको एक हो, ढाका उद्योग। उद्योगी हरिकृष्ण कार्कीका अनुसार पाल्पामा २०६२ सालसम्म ढाका उद्योगको रौनक निकै थियो। घरमै हाते तानमा ढाका बुनिन्थ्यो। कामदार मनग्गे पाइन्थे।
त्यति वेला लागत अनुसारको आम्दानी पनि पाइन्थ्यो। कार्की भन्छन्, “पाल्पाको ढाका उद्योग बुटवलसम्म विस्तार भएको थियो। पाल्पामै ३०-३५ वटा उद्योग थपिएका थिए।”
पछिल्लो २० वर्षयता पाल्पामा ढाकाको तान चलाउन जान्ने मान्छे पाइन छाडेका छन्। कामदार भारतबाट ल्याउनुपरिरहेको व्यवसायी बताउँछन्। धागो पनि भारतबाटै ल्याउनुपर्छ। बुटवल धागो कारखाना बन्द भएपछि २०६४ सालदेखि सस्तो र गुणस्तरीय धागो पाइन छाडेको छ।
त्यस्तै, वनले साल र सिसौ काट्न नदिने भएकाले तान बनाउन चाहिने काठ पनि भारतबाट नै ल्याउनुपर्छ। उद्योगी कार्की भन्छन्, “सबै कुरा उतैबाट ल्याएर ढाका बनाएर बेच्ने वेलासम्म महँगो हुन जान्छ। अनि बेच्न समस्या हुन्छ।”
जेलमा कैदीबन्दीलाई उत्पादनमूलक काममा लगाउने योजना अनुसार पाल्पामा पहिलो पटक ढाका बुन्ने तान भित्रिएको स्थानीय बासिन्दा एवं पुराना पत्रकार कर्णबहादुर कार्की सुनाउँछन्। कैदीबन्दीलाई खाली नराख्ने, ढाकाको काम सिकाउने भनेर काठमाडौंबाट सुब्बा गणेशमान महर्जनलाई झिकाइएको कार्की बताउँछन्।
जेलमै तान राखेर कैदीबन्दीको श्रम प्रयोग गरी ढाका उत्पादन गरेर बेच्न थालिएको थियो। “पछि सेवानिवृत्त भएपछि महर्जन आफैंले पाल्पामा ढाका उद्योग खोले,” कार्की भन्छन्, “अनि पाल्पामा ढाका उद्योगको शुरूआत भयो।”
घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार पाल्पामा २० वटा ढाका उद्योग छन्। तीमध्ये अधिकांशले परम्परागत प्रविधि प्रयोग गर्दैनन्। कार्यालयका अधिकृत थम्मन सारूका अनुसार पाल्पामा ढाका उद्योगको अवस्था नाजुक छ।
परम्परागत प्रविधि अनुसार उत्पादन भएको ढाकाको लागत धेरै लाग्ने, कामदार नपाइने भएकाले उद्योगहरू आधुनिकतातर्फ गइरहेका छन्। काठको म्यानुअल तानलाई फलामका विद्युतीय तानले विस्थापन गरिंदै छ।
अहिले त धागो होइन, ढाकाको कपडा नै आयात हुन थालेको छ। “ट्रक बिहानै ढाकाको कपडाको थान लिएर आउँछन्। व्यापारी त्यसलाई पाल्पामा उत्पादन भएको भनेर बेच्छन्,” सारू भन्छन्, “ढाका बजार अहिले भारत र चीनबाट आएका ढाकाले लिइरहेका छन्।”
पत्रकार कार्की पनि पाल्पाली ढाका भनेर बेचिने कपडा अधिकांश नक्कली भएको बताउँछन्। “पाल्पाली ढाका भनेर बेचिने ९० प्रतिशत ढाका पाल्पाको होइन, कि पूर्वेली ढाका हो कि त भारतीय,” उनी भन्छन्।
पाल्पाली ढाका संघकी अध्यक्ष पूर्णमाया महर्जनका अनुसार पाल्पामा ढाका उद्योग खस्कनुको मुख्य कारण रैथाने उत्पादनको लागत बढ्नु र भारतबाट आयात हुनु हो। “धागाको भाउ बढेको छ। सस्तोमा कामदार पनि पाइँदैनन्। हातले बुनेका ढाकाको मूल्य धेरै पर्न जान्छ,” महर्जन भन्छिन्, “बजारमा आयात गरिएका ढाकाहरू सस्तोमा पाइन थालेका छन्। हाम्रो ढाका कसले किन्ने?”
ढाका उद्योगको मात्रै होइन, पाल्पामा परम्परागत प्रविधि प्रयोग हुने काँसको करुवा र माटाको भाँडा उद्योगको अवस्था पनि उसैगरी धराशायी बन्दै गएको छ। १९औं शताब्दीको उत्तरार्द्धमा काठमाडौंबाट पाल्पा आएका राणाले भक्तपुरका सिपालु नेवारलाई सँगै ल्याएका थिए।
उनीहरूमध्ये एक थिए, सूर्जेमान बज्राचार्य। उनले पाल्पा टक्सारमा आएर करुवा बनाउने पुर्ख्यौली पेशालाई निरन्तरता दिए। अहिले उनका नाति प्रदीप र बुहारी सपना बज्राचार्य पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन्।
करुवा बनाउने यो नै अन्तिम पुस्ता भएको प्रदीप सुनाउँछन्। “छोराले अब विदेश जाने सोच बनाएको छ। विदेश गएन भने पनि साइकल पसल चलाउने भनेर मनस्थिति बनाइसकेको छ,” पाल्पाली करुवा उद्योगका सञ्चालक प्रदीप भन्छन्, “बा, अब यो दुःखको काम कसले गर्छ भनेर सुनाउँछ।”
करुवा बनाउन सजिलो त कहाँ छ र! प्रदीपका अनुसार तामा र राङ मिलाएर एउटा करुवा बनाउन एक महीना लाग्छ। मैन मार्फत फर्मा बनाउने, तामा र राङलाई भट्टीमा पगाल्न अधिक श्रम लाग्छ। त्यसपछि फर्मा अनुसारको आकार दिन घण्टौं समय लाग्ने गरेको बताउँदै उनी भन्छन्, “नयाँ पुस्ता त्यो झन्झट लिन चाहँदैन।”
त्यसैगरी, पाल्पा चिलाङ्दीमा नयाँ पुस्ताले सीप नसिकेकै कारण माटाको भाँडा उद्योग नै बन्द भएको छ। उद्योग चलाइरहेको कुमाल समुदाय वैकल्पिक आयआर्जनतिर लागिसकेकाले एउटा उद्योग पनि अस्तित्वमा छैन।
घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत सारूका अनुसार यस्ता परम्परागत रैथाने प्रविधिलाई जोगाउँदै त्यसको व्यवसायीकरण गर्न सरकारले अनुदानका कार्यक्रम ल्याएको छ। तर त्यो अनुदान रकम खर्च हुन सकेको छैन।
परम्परागत उद्योगमा नयाँ पुस्तालाई आकर्षित गर्न नसकिएको उनी बताउँछन्। “लागत धेरै पर्ने, बजारमा महँगो पर्ने र नाफा कम हुने भएपछि पछिल्लो पुस्तामा आकर्षण देखिएको छैन,” उनी भन्छन्।