सिरोहिया पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन
कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ।
बुधबार बिहानैदेखि स्थानीय व्यवसायीसँगै तरुण दल र नेविसंघले प्रदर्शन गरेका हुन्। उनीहरूले जिल्ला अदालत, धनुषाको वरिपरि प्रदर्शन जारी राखेका छन्।
उनीहरू गृहमन्त्री रवि लामिछाने र सरकार विरुद्ध नाराबाजी गरिरहेका छन्। सिरोहियालाई नियोजित रूपमा पक्राउ गरिएको भन्दै विरोध जनाइरहेका छन्।
त्यस्तै, व्यवसायीको बैठकले नै सिरोहियाको पक्राउको विरोध गर्ने निर्णय गरेको हो। पूर्वाग्रही भएर सिरोहिया विरुद्ध कामकारबाही भइरहेको जनाउँदै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पक्राउलाई अनुचित भनेका छन्।
सोधपुछका लागि बोलाउनुको सट्टा पक्राउ गरिएको उनको भनाइ थियो। राज्यले पूर्वाग्रही कदम नरोकेमा सशक्त आन्दोलन गर्ने महासेठको चेतावनी थियो।
जनकपुरमा प्रदर्शन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालित छन्।