कामीरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा
कीर्तिमानी आरोही कामीरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा पुगेका छन्। दुई साता नबित्दै दोस्रो पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्।
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार शेर्पा आज बिहान ७:४९ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। “कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औं पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ,” गौतमले भने।
वसन्त यामको जारी आरोहणमा शेर्पा दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। यसअघि गत वैशाख ३० मा सगरमाथाको चुचुरोमा पुगेर २९ पटक आरोहणको कीर्तिमान बनाएका थिए। आज फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय शेर्पा कुशल पर्वतारोही पथप्रदर्शक हुन्। १३ मे १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका उनको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही शेर्पा नै हुन्। अघिल्लो वर्षको वसन्त याममा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए।
गत वैशाख २८ गतेदेखि यस वर्षको आरोहण शुरू भएको हो। सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष सहित ४१४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेको जनाइएको छ।
यो पनि पढ्नुहोस् : कीर्तिमानी कामीरिता: कीर्तिमान राख्न चढ्दैनन् सगरमाथा