कुन मन्त्रीको सम्पत्ति कति?
सरकारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री दाहालले २०८० भदौ २० गते बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको हो। जस अनुसार प्रधानमन्त्री दाहालसँग चितवनको भरतपुर महानगरपालिका-१४ मा पार्किङ सहित १४ कट्ठा जग्गामा बनेको घर र वडा नम्बर १२ मा एक कट्ठा जग्गा छ।
प्रधानमन्त्रीले घर पैतृक सम्पत्ति भएको खुलाएका छन् भने एक कट्ठा जग्गा अंशबाट प्राप्त भएको खुलाएका छन्। यस्तै, पैतृक सम्पत्तिकै रूपमा आफूसँग पाँच तोला सुन भएको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ।
मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार सर्वाधिक धनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन्।
गठबन्धन सरकारको नेतृत्व सम्हालेको झन्डै डेढ वर्षपछि प्रधानमन्त्री दाहाल तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सरकारले सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा लामो समयदेखि आलोचना हुँदै आएको थियो। दाहालअघिका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थिएन।
खुला सरकार, पारदर्शी शासन प्रणाली तथा जवाफदेहीका दृष्टिले सार्वजनिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनु आधारभूत लोकतान्त्रिक चरित्र मानिन्छ।
मन्त्रीहरूको सम्पत्ति विवरण कसको कति छ? हेर्नुस् इन्फोग्राफिक्समा :