हाब्रे जोगाउन भिडिओ सन्देश
हाब्रे संरक्षणमा संलग्न संस्था रेड पान्डा नेटवर्कले मण्डला थिएटरसँगको सहकार्यमा साढे तीन मिनेटको सन्देशमूलक भिडिओ बनाएको छ।
रेड पान्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम लामाले समुदायमा हाब्रेबारेको जानकारी अझै व्यापक बनाउनुपर्ने भएकाले यो भिडिओ बनाइएको बताए। “कोरोनाको वेला हात धोऔं भनेर बारम्बार भनिरहनुपरे जस्तै कति कुरा दोहोर्याइरहनुपर्ने हुँदो रहेछ,” लामाले भने, “हाब्रे जोगाउने कुरा पनि मान्छेको मनमा प्रभावकारी रूपमा बसाउन र पुनःस्मरणका लागि सहयोग होस् भनेर हामीले यो भिडिओ बनाएका हौं।”
भिडिओको अवधारणा र निर्देशन कलाकार दयाहाङ राईले गरेका हुन्। राईले भिडिओमा हाब्रे संरक्षणको ठाडो सन्देशभन्दा पनि हाब्रेसँगको प्रेमलाई जगाउने आफूहरूको प्रयास केन्द्रित भएको बताए। “थिएटरमा हामी जुन ढंगमा काम गर्छौं, त्यही अनुरूप सांगीतिक प्रस्तुति जस्तो भिडिओ बनाइएको छ,” राईले बताए।
प्राणीहरूको संरक्षणप्रति गम्भीर हुनु कलाकारको पनि दायित्व भएको बताउँदै राईले भने, “अहिले यो तीन मिनेटको भिडिओलाई कुनै दिन हामी रंगमञ्जमा पूरा कथा सहित लिएर आउनेछौं,” राइले भने।
भिडिओमा बेनुका राईको संगीत र अनुप न्यौपानेको कवितालाई उतारिएको छ।
नेपालका २४ जिल्लामा पाइने लजालु स्वभावको संकटापन्न हाब्रे राति पनि हिंडडुल गर्ने र विशेषतः बिहान-बेलुका बढी सक्रिय हुने प्राणी हो। हाब्रेले गाउँघरमा निगालो भनिने चार-पाँच मिटरसम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिंगो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा खान रुचाउँछ।
यो प्राणी चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भूटान, भारत र नेपालमा पाइन्छ। नेपालमा ३०० देखि ५०० सम्म हाब्रे रहेको अनुमान छ।