अनुमति लिएकामध्ये ७० प्रतिशतले गरे सगरमाथा आरोहण
यस वर्षको वसन्त याममा अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले सगरमाथाको आरोहण गरेका छन्।
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार यस याममा आरोही र शेर्पा सहयोगी सहित ४६० जनाले सगरमाथा आरोहण गरेका छन्।
“हालसम्म करीब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ,” उनले भने, “अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ।”
आउँदो शनिबारसम्म मौसम अनुकूल भएकाले सोही समयभित्र आरोहण गरिसक्न पनि विभागको फील्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ।
पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले पनि सगरमाथा आरोहण करीब अन्तिम चरणमा पुगेको बताए। मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहज रूपमा चुचुरो पुग्ने अनुमान गरिएको उनले उल्लेख गरे।
यस्तै, सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि चुचुरोतर्फ लागेकाले अहिले सगरमाथाको आधारशिविर सुनसान बन्दै गएको छ।
फील्ड कार्यालयका प्रमुख गौतमका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार ५०० पाल टाँगिएका थिए। आधारशिविरमा पर्वतारोही, शेर्पा पथप्रदर्शक र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो। आरोहण यामको दुई महीनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ।
यस्तै, यस याममा मंगोलियाका दुई जना आरोहीको मृत्यु भएको विभागले जनाएको छ। आरोहणका क्रममा घाइते भएका ५० जनाभन्दा बढी आरोहीलाई सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार समेत गरिएको थियो। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि शुरू भएको थियो।