प्रधानमन्त्रीको सम्पत्ति : १४ कट्ठामा घर, २५ लाख ब्यांक ब्यालेन्स
प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री दाहालले २०८० भदौ २० गते बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको हो। जस अनुसार प्रधानमन्त्री दाहालसँग चितवनको भरतपुर महानगरपालिका-१४ मा पार्किङ सहित १४ कट्ठा जग्गामा बनेको घर र वडा नम्बर १२ मा एक कट्ठा जग्गा छ। घर र जग्गा दुवै दाहालकी दिवंगत श्रीमती सीता दाहालको नाममा छ।
प्रधानमन्त्रीले घर पैतृक सम्पत्ति भएको खुलाएका छन् भने एक कट्ठा जग्गा अंशबाट प्राप्त भएको खुलाएका छन्। यस्तै, पैतृक सम्पत्तिकै रूपमा आफूसँग पाँच तोला सुन भएको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ।
साथै, दाहालको एभरेस्ट ब्यांकमा रहेको खातामा २५ लाख नगद मौज्दात रहेको पनि विवरणमा उल्लेख छ। उनले यो रकम प्रतिनिधि सभा सदस्यका हैसियतले प्राप्त भएको उल्लेख गरेका छन्।
यस्तै, ऋण लिएको वा तिर्नुपर्ने नभएको पनि उनले खुलाएका छन्।