राज्यशक्तिको दुरुपयोग गरेर हुने प्रतिशोधबाट विचलित हुन्नँ : अध्यक्ष सिरोहिया
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाले कानूनी अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोधबाट विचलित नहुने बताएका छन्।
नागरिकता कीर्ते सम्बन्धी विवादमा जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ पुर्जी जारी गरेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। प्रहरीमा परेको उजुरीबारे आफूलाई सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको भन्दै सिरोहियाले जेठ ८ गते विज्ञप्ति मार्फत विरोध जनाएका हुन्।
‘कानून अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा म तयार छु,’ सिरोहियाले भनेका छन्, ‘तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रूप किञ्चित् पनि विचलित हुनेछैन।’
कान्तिपुर दैनिकले सहकारीको नाममा भइरहेको ठगीको विरोधमा निरन्तर समाचार लेखेकै कारण प्रतिशोध साँधेको अध्यक्ष सिरोहियाको निष्कर्ष छ। उनले भनेका छन्, ‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेरा विरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछ समेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन।’
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेको विज्ञप्तिको आशय छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नाम उल्लेख नगरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?’
ज्ञानेन्द्र शाहको शासनका वेला र लोकमान सिंह कार्की समेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि ‘यस्तै षड्यन्त्र’ भएको सिरोहियाले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिंदै आएको छ। अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।”
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाले जारी गरेको विज्ञप्ति :