संकटमा याक-नाकको नश्ल
‘याक-नाकको नश्ल संकटमा पर्नुको कारण एउटै गोठ अर्थात् हाडनाता सम्बन्धबाट गर्भाधान हुनु पनि हो।’
हिमाली क्षेत्रमा पालिने याक-नाकको संख्या नेपालमा पछिल्ला वर्ष निरन्तर घट्दो छ। यसको संरक्षण, व्यावसायिक पालन तथा आनुवंशिक अध्ययनमा सरकारले चासो देखाएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगत ५१ वर्षदेखि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४, स्याङबोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालन गर्दै आए पनि त्यसले उद्देश्य अनुरूप काम गर्न सकेको छैन। “हामीले भएका याकको पालनपोषण र संरक्षण मात्र गरिरहेका छौं,” २४ वर्षयता केन्द्रमा कार्यरत पशु सेवा प्राविधिक रामलल्लन यादव भन्छन्, “आनुवंशिक अध्ययनका लागि आर्थिक स्रोत र जनशक्तिको अभाव छ।”
तीन हजार ८८५ मिटरको उचाइमा रहेको यो केन्द्र २०३० सालमा चौंरी फार्म नामले स्थापित भयो। त्यसयताका ५१ वर्षमा पशु विकास फार्म (२०३६), याक विकास फार्म (२०६१) हुँदै २०७५ देखि याक आनुवंशिक स्रोत केन्द्र नाम दिइएको छ जहाँ याक र नाक गरी १५५ वटा चौपाया छन्।
याक-नाक तथा चौंरीमा अन्योल
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार देशभर चौंरीको संख्या ५३ हजार हाराहारी छ। चौंरी पाल्ने परिवार १० हजारभन्दा कम छन्। २०४८ साल ताका ५८ हजार हाराहारी रहेका चौंरी त्यसपछिको दशकमा बढेर ९५ हजारसम्म पुगेका थिए। तर २०६८ सालमा घटेर ४८ हजार पुगेकोमा अहिले पाँच हजार जति थपिएको अनुमान राष्ट्रिय कृषि गणनाले गरेको हो।
याक-नाक तथा चौंरीको अध्ययनमा सक्रिय शंकरराज बर्सिला सरकारले याकलाई समेत गाईकै समूहमा राखिदिंदा यकीन तथ्यांक थाहा हुन नसकेको बताउँछन्। “हामीले विद्यालय स्तरमै याक भनेको चौंरी र चौंरी भनेको हिमाली गाई भनेर पढ्यौं/पढायौं,” उनी भन्छन्, “तर जसरी भैंसी र गाई उस्तै होइनन्, याक चौंरी र गाई पनि उस्तै होइनन्। यिनलाई गाईभन्दा अलग राखिनुपर्छ।”
हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक हो। लेकाली चरन क्षेत्रको चार हजारदेखि पाँच हजार १०० मिटर उचाइमा एकै ठाउँ चराउँदा भाले लाग्ने र त्यसैबाट याक-नाकको नश्ल विस्तार हुने गरेको छ। यिनीहरूमा हालसम्म परम्परागत गर्भाधान मात्र हुँदै आएको छ। याक-नाककै विषयमा विद्यावारिधि गरेका बर्सिलाका अनुसार नेपालका याक-नाकको नश्ल संकटमा पर्नुको प्रमुख समस्या एउटै गोठ अर्थात् हाडनाता सम्बन्धबाट गर्भाधान हुनु पनि हो। “उही गोठ वा समूहका भालेपोथीबीचको संसर्गबाट उत्पादन हुने नाक सानो हुँदै जाने, दूध कम दिने तथा याकको सिङ नउम्रने समस्या आउँछ,” उनी भन्छन्।
स्याङबोचे केन्द्रका सूचना अधिकारी समेत रहेका पशु सेवा प्राविधिक यादव आफूहरूले यसरी गोठ छुट्याएर गर्भाधानको व्यवस्था गराउन नसकेको बताउँछन्। “याक-नाक घरपालुवा भए पनि जंगली जनावर जस्तै व्यवहार गर्छन्, त्यसले गर्दा नश्ल सुधार वा फरक गोठका भालेपोथीबीच समागम गराउन कठिनाइ छ,” उनी भन्छन्, “बाच्छाबाच्छी मात्रै हो गोठमा राख्ने, अरू त बाहिरै बस्छन्।” उनले त्यसो भनिरहँदा स्याङबोचेको ३४२ रोपनी क्षेत्रमा फैलिएको केन्द्रको कोणधारी जंगल तथा पाटनमा याक-नाकको हुल चरिरहेको देखिन्थ्यो। उनीहरू माइनस चार डिग्री सेल्सियससम्मको जाडोमा पनि बाहिरै बस्ने गर्छन्।
यस केन्द्रमा चौंरी भने छैनन्। बर्सिलाका अनुसार हिमाली भेगमा दूध उत्पादनका लागि याक-नाकलाई तल्लो भेगका गाई वा माथिल्लो भेगका याकसँग समागम गराउँदा जन्मिएका पोथीहरू चौंरी हुन्। “नाकलाई तिब्बती साँढे (लाङ) लगाउँदा जन्मेको बाच्छी डिम्जो चौंरी हो, यस्तै शुद्ध नश्लको याक र तल्लो क्षेत्रको पहाडी गाईबाट जन्मेको बाच्छी उराङ चौंरी हो,” बर्सिला भन्छन्।
यसरी ‘क्रस’ गरेर उत्पादित गाईले दूध पनि बढी दिने गरेका छन्। तर यही प्रक्रियाबाट जन्मिएका बाच्छाले भने नश्ल अघि बढाउन सक्दैनन्। जोक्पे, तोले सहित विभिन्न नाम पाएका यस्ता भाले हिमाली भेगमा भारी बोक्न मात्र प्रयोग हुन्छन्।
याक-नाकको शुद्ध नश्ल कम हुनुका साथै तिब्बती साँढेसम्मको पहुँच कठिन रहेकाले किसानले डिम्जोभन्दा उराङ चौंरी बढी पाल्ने गरेको बर्सिला बताउँछन्।
बसाइँसराइ र वातावरणीय प्रभाव
कृषि गणनामा याक-नाक कति र कुन प्रकारका चौंरी कति छन् भन्ने उल्लेख गरिएको छैन। बर्सिला भने हाल नेपालमा करीब २० हजारको हाराहारी याक-नाक तथा ४० देखि ६० हजारको बीचमा चौंरी रहेको अनुमान गर्छन्। “उनीहरू पनि बसाइँसराइ तथा वातावरणीय प्रभावका कारण जोखिममा पर्दै गएका छन्,” उनी भन्छन्, “द्वन्द्वकालमा हिमाली भेगमा पशुपालन केही बढेको देखिएको थियो, तर सन् २०१० को दशकयता चिन्ताजनक रूपमा घटेको छ। यसको प्रमुख कारण हिमाली भेगबाट मानिसको बसाइँसराइ तथा वातावरणीय प्रभावले चरन क्षेत्रमा आएको संकुचन हो।”
हालै सिन्धुपाल्चोकको हेलम्बुमा याक-नाक तथा चौंरीपालकको स्थिति र बसाइँसराइको प्रभाव अध्ययन गरेर फर्किएका संयुक्त राष्ट्रसंघीय आप्रवासन संस्था (आईओएम)को नेपालस्थित कार्यालयका प्रज्वल शर्माका अनुसार परम्परागत याक-चौंरीपालन पेशा संकटमा आएको स्पष्ट देखिन्छ। हिउँदमा बेंसी र अरू वेला चरनका लागि लेकतिर जाने किसानको संख्या स्वात्तै घटेको छ।
यस बाहेक वातावरणीय परिवर्तन पनि किसान र चौपायाका निम्ति प्रतिकूल हुँदै गएको छ। स्याङबोचे केन्द्रमा कार्यरत यादवका अनुसार पछिल्ला दिन आवश्यक परेका वेला हिउँ नपर्दा चरन क्षेत्रमा घाँस नउम्रने समस्या छ। यसले आहारामा असर परेको छ। याक-नाकको गर्भाधानको याम समेत बिग्रिएको छ। “पहिले सबै जस्तो नाक ब्याउँथे, अहिले मौसमी परिवर्तनका कारण उनीहरूको चक्रमा परिवर्तन देखिएको छ। पहिले मेटिङ सिजन साउन-भदौ रहेकोमा अहिले कात्तिक-मंसीरसम्म पुगेको छ,” यादव भन्छन्, “कात्तिक-मंसीरदेखि नै पर्नुपर्ने हिउँ अहिले चैत-वैशाखमा पर्छ। पुस-माघमा हुरी चल्छ।”
वैशाखमा घाँस पलाइसक्ने चरन क्षेत्र यस पालि खाली थियो। पछिल्ला वर्ष जेठ-असारतिरबाट मात्र घाँस, जडीबुटी पलाउने गरेको यादवको अनुभव छ।
अध्ययनमा जोड
यादव याक-नाकका सवालमा आनुवंशिक तथा वातावरणीय रूपमा भइरहेको परिवर्तनको प्रभाव अध्ययन गर्न ढिलाइ भइसके पनि यो आफ्नो वशको कुरा नरहेको बताउँछन्। “हामीलाई एक आर्थिक वर्षमा सबै कामका लागि दुई करोड ६१ लाख रुपैयाँ आउँछ। साउनदेखि असोजसम्म दूध दुहेर लिटरको ३०० का दरले बेच्ने गरेका छौं, १० लाख रुपैयाँ जति हुन्छ,” उनी भन्छन्, “तर त्यो आहाराका लागि आलु किन्दा नै सकिन्छ।”
रैथाने जातिका पशुपन्छीबारे अध्ययन गर्न नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र पनि छ। तर आफूहरूसँग याक-नाक तथा चौंरीकेन्द्रित प्रजनन तथा आनुवंशिक अध्ययनको कार्यक्रम नरहेको केन्द्र प्रमुख सागर पौडेल बताउँछन्। “याक-नाकमा खास काम नै भएको छैन,” उनी भन्छन्, “जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा छिटो पर्ने कुरा प्रस्ट भइसकेकै छ। त्यसको असर याक-नाक तथा चौंरीमा पनि पक्कै परेको हुनुपर्छ।”
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमसँग पनि याक-नाक तथा चौंरीको आनुवंशिक अध्ययनको कार्यक्रम छैन। “यस वर्षदेखि रसुवा र मुस्ताङमा याक-नाक तथा चौंरीको अवस्थाबारे सर्वेक्षण त थालेका छौं, तर यो आनुवंशिक वा विस्तृत अध्ययन होइन,” राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर, चितवनका प्रमुख यज्ञराज पाण्डे भन्छन्, “गाई अन्तर्गत नै राखिएकाले छोड्न हुँदैन भनेर काम शुरू मात्र गरेका छौं।”
पछिल्लो तथ्यांकमा नेपालमा उच्च पहाडी तथा हिमाली गरी २८ जिल्लामा याक-नाक तथा चौंरी पाइएका छन्। यिनको नौनी तथा चीज स्वस्थकर हुने भएकाले किसानलाई सही जानकारी दिएर व्यावसायिक पालनका निम्ति प्रेरित गर्दा संरक्षणसँगै जीविकामा पनि सघाउ पुग्ने देखिन्छ। बर्सिलाका अनुसार याक-नाक तथा चौंरीको चीज एवं दुग्धजन्य उत्पादनमा मुटुरोग तथा क्यान्सरसँग जुध्न सक्ने गुण पाइएको अध्ययनले देखाएका छन्। “नाकले दिनमा एकदेखि दुई लिटरसम्म दूध दिन्छ। चौंरीको हकमा कम्तीमा दुईदेखि बढीमा ६ लिटरसम्म हुन्छ,” उनी भन्छन्, “आनुवंशिक अध्ययन गरी नश्ल सुधारिए उत्पादन अझ बढ्न सक्छ।”