नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते प्रतिनिधि सभामा छलफल हुने भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि आगामी शुक्रबारको दिन तोकेको जानकारी गराएका थिए।
यस्तै, प्रतिनिधि सभाको आजकै बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन पनि गरेको छ। राष्ट्रपति पौडेलले गत जेठ १ गते संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा उनलाई धन्यवाद ज्ञापन गरिएको हो।
संसद् बैठकमा सभामुख घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने वेल घेराउ र नाराबाजी गरिरहेको थियो।