‘सूचना बेच्ने एजेन्ट देखाउन नसके गृहमन्त्रीलाई गलहत्याउँछौं’
नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सूचना बेच्ने एजेन्ट देखाउन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।
प्रतिनिधि सभाको जेठ ८ गतेको बैठकमा बोल्दै पाण्डेले सूचना बेच्ने एजेन्ट देखाउन नसके सदनमा गृहमन्त्रीलाई गलहत्याउन पछि नपर्ने धारणा राखे। “गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा छ भन्नुभएको छ। गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट? देखाउनुस्। उसलाई सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं,” पाण्डेले बैठकमा भने, “तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्नेछैनौं।”
कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डेले गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे। उनले भने, “गृहमन्त्रीले लगाउनुभएको आरोप सत्य हुन् भने प्रमाणित गरेर देखाउन सभामुखज्यूको रुलिङ चाहियो। गृहमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दछु।”
जेठ ६ गतेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले विदेशीलाई राष्ट्रिय सूचना बेच्ने एजेन्ट सदनमै भएको बताएका थिए।