गैंडाको खाग खरीदबिक्रीमा संलग्न ६ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले एकसिंगे गैंडाको खाग खरीदबिक्रीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
सोही घटनाका एक आरोपित भने फरार छन्। गत चैत २७ गते भरतपुर महानगरपालिका-६ बाट पक्राउ परेका उनीहरूलाई निकुञ्ज कार्यालयले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका-१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका-४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका-१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी छन्।
उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए। उक्त खाग २०७२ चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ।
पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका-१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिंगे गैंडा मरी सडिगलेको अवस्थामा देखेपछि दुई जना मिलेर मृत गैंडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ। थापाको भने मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
पक्राउ परेका र फरार रहेका गरी सात जनालाई प्रतिवादी बनाई उनीहरूले संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग (आखेटोपहार) खरीद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) ऐन, २०२९ को दफा ५ (१) को (क) र दफा २६ (१) को विरुद्धको कसूर गरेको निकुञ्जको ठहर छ।
उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत, चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिए।