नेपाललाई जलवायु परिवर्तनका क्षेत्रमा सघाउने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिबद्धता जनाएका छन्।
नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीको कार्यालयमा जेठ ७ मा आयोजित विशेष समारोहमा सुनकले नेपाललाई जलवायु परिवर्तनका क्षेत्रमा सघाउने प्रतिबद्धता गरेका हुन्।
लन्डनस्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानी लगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए। उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिश गोर्खा’ को योगदानको प्रशंसा गरे।
विगतमा राजा चार्ल्सले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री सुनकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’ को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए।
बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत-नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताइन्। उनले नेपालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताइन्।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गरेका थिए। मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उनले उल्लेख गरे।
नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिंदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गरे। कार्यक्रममा बेलायतमा विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपाली, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी उपस्थित थिए।
नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको १०० वर्ष पुगेको अवसरमा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली समुदायको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।