उत्साह घटेको भारतको चुनाव (तस्वीरहरू)
छिमेकी देश भारतमा यसअघिका लोक सभा निर्वाचनमा मतदातामा जुन उत्साह देखिने गरेको थियो, त्यो यस पटक भने देखिएन।
पाँच वर्षअघि पनि भारतको लोक सभाको चुनावमा भोपाल, पटना र मुम्बई पुगेको थिएँ। चुनावी प्रचार र मतदानका क्रममा पनि तस्वीर खिच्ने मौका मिलेको थियो।
यस पटक फेरि भारतीय चुनावलाई नियाल्ने मौका जुर्यो। यस वर्षको लोक सभा चुनावमा कोलकाता, पटना र मुज़फ्फरपुरमा एक साता बिताएँ। चुनावी र्याली, सभा र मतदान केन्द्रसम्म पुगें।
कोलकाता, पटना, हावडापछि बिहारको मुज़फ्फरपुर चहारें। पाँचौं चरण अन्तर्गत जेठ ७ मा बिहारमा चुनाव भएको छ।
मतदान केन्द्रसम्म पुगेर मतदाता, राजनीतिक दलका कार्यकर्ता र स्थानीय बुद्धिजीवीसँग कुराकानी गर्दा पनि पछिल्लो चुनाव जस्तो उत्साह देखिएन। जुन उत्साह सन् २०१९ को चुनावमा थियो, त्यसको तुलनामा यस पटक मतदातामा उत्साह धेरै घटेको पाइयो।
यससँगै गत निर्वाचनमा मतदाताले खुलेर कुराकानी गरेका थिए। यस पटक भने राजनीति र चुनावबारे कुरा गर्न मतदाता अनिच्छुक देखिए।
विशेष गरेर भारतीय चुनावमा बेरोजगारी, गरीबी जस्ता महत्त्वपूर्ण मुद्दाको ठाउँमा धार्मिक, जातीय विषय हावी हुँदा मतदाताको रुचि घटेको देखिन्थ्यो। मतदाता र स्थानीय नेता तथा कार्यकर्तासँगको कुराकानीमा पनि त्यो छनक पाइन्थ्यो।
सोमबार पाँचौं चरणमा ६ राज्यका ४९ सीटका लागि मतदान भएको छ। पाँचौं चरणको मतदानमा ५७.३८ प्रतिशत मत खसेको भारतीय चुनाव आयोगले जनाएको छ। सबैभन्दा बढी पश्चिम बंगालमा ७३ प्रतिशत र सबैभन्दा कम महाराष्ट्रमा ४८.८८ प्रतिशत मतदान भएको छ।
भारतीय चुनाव आयोगले सात चरणमा मतदानको घोषणा गरेको छ। भारतको लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ।
अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ। छैटौं चरणमा जेठ १२ गते ५८ सीट र सातौं चरणमा जेठ १९ गते ५७ सीटका लागि मतदान हुनेछ।