विश्वासको मत लिंदा संसद्लाई ब्यारेक बनाइयो : कांग्रेस
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिंदा संसद्लाई ब्यारेक जस्तो बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ठहर छ।
प्रतिपक्षी दलको नाराबाजीबीच सोमबार प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिने वेलामा सभामुख देवराज घिमिरेले आफूहरूलाई बोल्न नदिएकोमा समेत कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विरोध जनाए।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा लेखकले भने, “प्रधानमन्त्री आवश्यकै नभएको दिनमा विश्वासको मत लिन आउने, सभामुख प्रतिपक्षलाई बोल्न नदिने र संसद्लाई ब्यारेक जस्तो बनाएर विश्वासको मत प्राप्त गर्ने कुराले अहिलेको सरकार निरंकुशतातिर जाँदै छ भन्ने स्थापित भएको छ।”
सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग राखेर कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। प्रमुख चार दलबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भए पनि कार्यविधि कस्तो हुने भन्ने विषय नटुंगिंदा समिति गठन हुन सकेको छैन। आफ्नो माग पूरा नभएको भन्दै कांग्रेसले सोमबार पनि सदन अवरुद्ध गरेको हो।