यो घटना संसदीय इतिहासमा कलंकका रूपमा स्थापित हुनेछ : दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गरे। कांग्रेसको व्यवहारले दुःखी भएको उनको भनाइ थियो।
“विपक्षीलाई समेत सहमतिमा लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरूले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ,” दाहालले भने, “इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलंकका रूपमा स्थापित हुनेछ।”
विपक्षी दलको अवरोधबीच प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका छन्। विपक्षी दलका सांसद भने मतदानमा सहभागी भएनन्।