सहकारी ठगीलाई लिएर प्रतिनिधि सभामा नाराबाजी
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसका सांसदले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ।
सोमबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेस लगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। उनीहरूको विरोधबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस सांसदले नाराबाजी गरेका हुन्।
उनीहरूले ‘बेल’ मा गएर विरोध जनाएका थिए। त्यसपछि पनि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरेका थिए। कांग्रेस सांसदले भने संसदीय छानबिन समिति गठनको नहुँदासम्म सदनका कामकारबाही अगाडि बढ्न नदिने अडान लिएका थिए।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची छ। जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले भने सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ। यसलाई लिएर संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आएको छ।