हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु
इरानका राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री होसेन अमीर अब्दोल्लाहियनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इरानका एक उच्च अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति र विदेशमन्त्री लगायत उक्त हेलिकोप्टरमा सवार व्यक्तिको मृत्युको पुष्टि गरेको हो।
“राष्ट्रपति राइसी, विदेशमन्त्री र हेलिकोप्टरमा सवार सबै यात्रु दुर्घटनामा मारिएका छन्,” विषयको संवेदनशीलताका कारण पहिचान नखुलाएका ती अधिकारीले भने।
इरानको सरकारी समाचार संस्था आईआरएनएले पनि राष्ट्रपतिको निधनको पुष्टि गरेको छ।
इरान-अजरबैजान सीमा क्षेत्रबाट इरानको उत्तर-पश्चिममा अवस्थित तब्रिज शहरतर्फ जाने क्रममा राइसी लगायत सवार हेलिकोप्टर आइतबार बाक्लो हुस्सुका कारण दुर्घटनाग्रस्त भएको थियो। पहाडी क्षेत्र र प्रतिकूल मौसमका कारण दुर्घटनास्थल पहिल्याउन हम्मेहम्मे परेको थियो।
रोयटर्सका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर जलेर पूर्णतः नष्ट भएको छ। ६३ वर्षीय राइसी सन् २०२१ मा इरानका राष्ट्रपति निर्वाचित भएका थिए।