सुन लूटपाटको आरोपमा दुई युवक पक्राउ
काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा सुन लूटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगन्जको टोलीले बूढानीलकण्ठ नगरपालिका-२, बीएमसी स्कूल र माथिल्लो भंगाल क्षेत्रमा महिलाले लगाएको गहना लूटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको हो।
बूढानीलकण्ठ क्षेत्रबाट रौतहटको मौलापुर नगरपालिका-४ का १९ वर्षीय सरोजकुमार साह र २० वर्षीय राधेश्याम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
बीएमसी स्कूल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लूटपाटमा सरोजकुमार र माथिल्लो भंगालमा सुमित्रा श्रेष्ठको सुन लूटपाटमा राधेश्याम संलग्न रहेको देखिएको अधिकारीको भनाइ छ।
दुवै जना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको उनले बताए।