नेपालले कसरी जित्ला ओलम्पिक पदक?
नेपालले आफू जस्तै राजनीतिक, आर्थिक, भौगोलिक र जानसांख्यिक स्थितिमा रहेर पनि ओलम्पिक्समा उत्कृष्ट प्रदर्शन गरिरहेका देशबाट सिक्न सक्छ।
सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक्स अबको दुई महीना (साउन ११) मा शुरू हुँदै छ। नेपालले यस पटक आफ्नो ओलम्पिक्स इतिहासकै पहिलो आधिकारिक पदक भित्र्याउन सक्ला त?
आधिकारिक यसकारण कि प्राविधिक रूपमा त दुई नेपालीले यसअघि नै ओलम्पिक पदक जितिसकेकै हुन्। सन् १९२२ को सगरमाथा आरोहणमा सहभागी भए बापत तेजवीर बुढाले सन् १९२४ को शीतकालीन ओलम्पिक्समा स्वर्ण पदक पाएका थिए। यद्यपि त्यो पदक विभिन्न देशका आरोहीलाई सामूहिक रूपमा दिइएको थियो।
दोस्रो पदक चाहिं तेक्वान्दोका विधान लामाले सन् १९८८ को सियोल ग्रीष्मकालीन ओलम्पिक्समा कांस्य पाएका थिए। तर त्यति वेला तेक्वान्दोलाई औपचारिक प्रतिस्पर्धा नभई प्रदर्शनीका रूपमा मात्र समेटिएकाले त्यो पदकलाई आधिकारिकमा गनिंदैन।
सन् १९९२ अघिसम्म आयोजक देशमा लोकप्रिय खेल प्रवर्द्धन मात्रको ध्येयले समेटिने यस्तो प्रतिस्पर्धालाई अनौपचारिक सत्रमा राखिन्थ्यो। उदाहरणका लागि सन् १९८४ को लस एन्जेलस ग्रीष्मकालीन ओलम्पिकमा बेसबल यस्तै खेल थियो। तर यस्तो प्रतिस्पर्धालाई प्रदर्शनीमा मात्र सीमित गरिनु किन उपयुक्त थिएन भने खेलाडीहरू त जित्ने उद्देश्यले नै खेलिरहेका हुन्थे। लामा खेलेकै खेलमा कांस्य पाउने अर्का खेलाडी पनि थिए, मेक्सिकोका इनरिक तोरोएल्ला सान्जे। अहिले पनि केही खेलमा सेमिफाइनल हार्ने दुवै खेलाडीलाई कांस्य पदक दिइन्छ।
यी तर्क आफ्नै ठाउँमा छन्। सत्य चाहिं के हो भने, ओलम्पिक पदकको औपचारिक सूचीमा नेपाल छैन। तर यो सूचीमा नअटाउनेमा बाङ्लादेश, कम्बोडिया सहितका अरू ७० वटा देश पनि छन्।
“ओलम्पिक्समा कति राम्रो गर्न सकिन्छ भन्ने कुरा कति लगानी हुन्छ भन्नेमा भर पर्छ, खेल भनेकै व्यवसाय हो,” नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य भन्छन्, “आवश्यक सामग्री, प्रशिक्षण, खेल्ने स्थान, पौष्टिक खाना, पारिवारिक वातावरण सबै मिल्दा मात्र पदक जित्ने खेलाडी तयार हुन्छ।”
ओलम्पिक्समा धेरै पदक जित्ने देश हुन्, संयुक्त राज्य अमेरिका, पूर्व सोभियत संघ, बेलायत, फ्रान्स र जर्मनी। किनकि यी सबैसँग खेल क्षेत्र विकासका लागि परिचालन गर्न सक्ने स्रोत इतिहासदेखि नै छ। “चीन र दक्षिण कोरियाले राम्रो प्रदर्शन गर्न थालेका छन्, किनभने उनीहरूको अर्थतन्त्र पनि विकसित भइरहेछ, भारतले पनि जित्न थालेको छ,” राजवैद्य भन्छन्।
नेपालमा आर्थिक समृद्धि र पर्याप्त लगानी अझै टाढाकै विषय छन्। तर यतिकै आधारमा नेपाली खेलाडीले ओलम्पिक्समा पदक जित्नै नसक्ने होइनन्। एकै पटक १६ वटा स्वर्ण पदक जित्न नसकिएला। शुरूमा एउटा कांस्य मात्रै पनि ठूलो उपलब्धि हुन सक्छ। यसका लागि नेपालले तीनथरी देशबाट प्रेरणा लिन सक्छ-
१. नेपालकै जस्ता समस्याबाट गुज्रिरहेका तर कम्तीमा एक वा दुई पदक जितिसकेका।
२. कम जनसंख्या भएका तर ओलम्पिक्समा राम्रो प्रदर्शन गरेका।
३. नेपालसँग सांस्कृतिक र भौगोलिक समानता रहेका।
बुर्किना फासो, गाबोन, ग्वाटेमाला र इराक जस्ता देशले ओलम्पिक्समा एउटा एउटा पदक जितेका छन्। यिनले खासगरी एथलेटिक्स, मार्सल आर्टस्, भारोत्तोलन, पौडी जस्ता खेलाडीको एकल सामर्थ्यले जित्न सकिने खेलमा सफलता पाएका हुन्। सन् २००४ मा रजत जित्ने पाराग्वेको फूटबल टीम र सन् २०१२ मा रजत नै जित्ने मन्टेनेग्रोको महिला ह्यान्डबल टीम चाहिं अपवाद हुन्। एथलेटिक्सतर्फका पदक २० किलोमिटरको दौड, म्याराथन र ४०० मिटरको हर्डल दौडबाट आएका छन् भने मार्सल आर्टस्तर्फ बक्सिङ र तेक्वान्दोबाट। गाबोनले जितेको एउटा पदक तेक्वान्दोतर्फको हो।
नेपालकै जस्तो स्थिति रहेका केही देशले दुई वटा ओलम्पिक पदक जितिसकेका छन्। तिनले ती पदक ट्रायथालन, रेस्लिङ, जुडो, पौडी र शूटिङ जस्ता एथलेटिक्स र युद्धसँग सम्बन्धित खेलबाट पाएका हुन्। सबैभन्दा बलियो उदाहरण हो, अफगानिस्तान। युद्धले क्षतविक्षत यो देशका निम्ति रोहुल्ला निक्पाईले दुई पटक तेक्वान्दोमा कांस्य जितेका छन्, सन् २००८ र २०१२ मा।
यी खेलाडीले देशको निराशाजनक राजनीतिक प्रणालीकै बावजूद सफलता पाएका हुन्। खेलाडीको क्षमता निर्माणमा परिस्थिति, परिवार, बाल्यकाल आदि जेसुकै कारण हुन सक्ला, तर यिनले संघर्षरत देशहरूले पनि ओलम्पिक्समा पदक जित्न सक्छन् भन्ने देखाएका छन्। यसबाट कुनै निश्चित खेलमा केन्द्रित भएर लगानी गरे पदक जित्ने सम्भावना बढी हुने संकेत पनि मिल्छ।
हंगेरी, नेदरल्यान्ड्स, रोमानिया, क्युबा जस्ता देशको जनसंख्या धेरै होइन, तर त्यहाँ ओलम्पिक्सका उत्कृष्ट खेलाडी छन्। नेपालको तुलनामा एकतिहाई जनसंख्या रहेको हंगेरी सबै ग्रीष्मकालीन ओलम्पिक्समा पदक जित्ने नवौं सूचीको देश हो। उसले ५११ वटा पदक जितेको छ।
यी चार देशमा एउटा कुराको समानता छ- उनीहरू सबै नभएर निश्चित खेलमा उत्कृष्ट छन्। हंगेरीको पकड ‘फेन्सिङ’ मा छ, यद्यपि त्यहाँका खेलाडीले पेन्टाथालोन र वाटर पोलोमा पनि पदक जितेका छन्। नेदरल्यान्ड्स साइक्लिङमा उत्कृष्ट छ, रोमानिया जिम्न्यास्टिकमा र क्युबा बक्सिङमा।
धेरै पदक जित्ने खेलाडी तयार पार्न ओलम्पिक्स देशको संस्कृतिको हिस्सा हुनुपर्छ। खेलाडीले सम्मान र आम्दानीसँगै सुरक्षा पाउनुपर्छ। खेल नै दिगो ‘करिअर’ बन्न सक्नुपर्छ। अर्कातिर सरकारले पनि केन्द्रीकृत लगानी र प्रशिक्षण बढाउँदै लैजानुपर्छ।
माल्दिभ्स, भूटान र बाङ्लादेशले पनि अहिलेसम्म कुनै पदक जितेका छैनन्। श्रीलंकाले एथलेटिक्समा दुई रजत जितेको छ। पाकिस्तानले १० वटा जितेको छ जसमध्ये आठ वटा हकीमा हो। भारतले भने ३५ वटा पदक जितेको छ।
पाकिस्तानले जस्तै भारतले पनि हकीमा राम्रो प्रदर्शन गरेको छ, तर एकल खेलाडी हुने खेलमा उसले स्वर्ण पदक जितेको छ। तीमध्ये एउटा शूटिङ हो। अर्को चाहिं सन् २०२१ को टोकियो ओलम्पिक्समा जितेको ज्याभेलिन। यसका विजेता नीरज चोपडाले लामो समय भारतमा प्रशिक्षण पाएका थिए। त्यसपछि मात्र उनी आफ्नो सीप तिखार्न जर्मनी, स्वीडेन र टर्की गएका थिए। पूर्वाधार अभावको समस्या टार्न नेपालले पनि खेलाडीलाई विदेशमा गुणस्तरीय तालीम लिन पठाउन सक्छ।
सोलुखुम्बुमा केही अघि सम्पन्न इन्दुरो रत्नांगे जस्ता प्रतियोगिताले बालबालिकालाई साइकल कुदाउन प्रेरित गर्दै गए नेपालले ओलम्पिक्समा पदक पाउने एउटा खेल माउन्टेन बाइकिङ हुन सक्छ। पछिल्लो समय ट्रेल रनिङमा पनि नेपालले सफलता हासिल गरिरहेछ। हालै चीनमा आयोजित ७० किलोमिटर अल्ट्रा दौडमा धावक सुनमाया बुढा विश्वमै दोस्रो भइन्। समस्या के भने, १०० वर्ष पुरानो खेल भईकन पनि ट्रेल दौडलाई अहिले ओलम्पिकमा समावेश गरिएको छैन। ‘ब्रेकडान्सिङ’ अब आधिकारिक खेल भइसकेकाले ट्रेल दौडबारे पनि छलफल पक्कै होला। यसलाई ओलम्पिक्समा सहभागी गराउन माग राखी साताअघि एक बेलायतीले लन्डनदेखि पेरिससम्मको ४५५ किलोमिटर दौड पूरा गरेका थिए।
नेपालसँग शीतकालीन ओलम्पिक्समा सफलता हासिल गर्ने सम्भावना पनि छन्। एक त यसमा थोरै मात्र देश सहभागी हुन्छन्। अर्को, यसका निम्ति अभ्यास गर्न नेपालमा हिउँ र सुहाउँदो भूगोल पनि छँदै छ। “शीतकालीन ओलम्पिकमा पदक जित्न उच्च गुणस्तरको प्रशिक्षण आवश्यक छ,” राजवैद्य भन्छन्।
- नेपाली टाइम्सबाट लक्ष्मण श्रेष्ठले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।